default_image

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अन्तिम खेलमा यूएईलाई पराजित गर्यो । सन् २०१९ मा सुरु भएको यस प्रतियोगिता बिचमा कोभिड संक्रमणका कारण लम्बिएर सन् २०२३ सम्म चल्यो ।

हरेक टोलीले ३६ खेल खेलेका यस प्रतियोगितामा कुल १ सय २६ खेल हुँदा जम्मा १ खेलले प्रतियोगिताको समिकरणमा कुनै भूमिका खेलेन । बुधबार भएको पपुवा न्युगिनी (पिएनजी) र संयुक्त अरब इमिरेट्स (यूएई) बाहेक अन्य सबै खेलले अंक तालिकाको समीकरणमा प्रभाव पारेको थियो । लिग-२ को अंक तालिकाको स्थानका आधारमा च्याम्पियन स्कटल्यान्ड, ओमान र नेपालले अब सिधै विश्वकप छनोट खेल्नेछन् ।

चौथो भएको नामिबिया र पाँचौ स्थानको अमेरिकाले ओडीआई मान्यता जोगाउँदै प्लेअफमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै पुछारका दुई टोली यूएई र पिएनजीले भने प्लेअफमार्फत ओडीआइ मान्यता जोगाउनु पर्नेछ । विश्वकप छनोटको प्लेअफ प्रतियोगिताले यूएई र पिएनजीसँगै च्यालेन्ज लिगबाट माथि आएका जर्सी र क्यानडाको आगामी चार वर्षको भविष्य निर्धारण गर्नेछ । प्लेअफ प्रतियोगिताका सबै खेल ओडीआइ मान्यता प्राप्त हुनेछन् ।

विश्वकप छनोटको प्लेअफमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउनेछ । जहाँ यी टोलीले सुपर लिगको पुछारका ५ टोली र लिग-२ को शीर्ष ३ टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।

यसबाहेक प्लेअफमा अमेरिका र नामिबियाले जुनसुकै स्थान हासिल गरेपनि ओडीआइ मान्यता जोगाइसकेका छन् । तर यूएई र पिएनजीले ओडीआइ मान्यता जोगाउने हो भने क्यानडा र जर्सीभन्दा माथि रहेर लिगको अन्त्य गर्नुपर्नेछ । प्लेअफका खेलमा यी चार टोलीबीचको नतिजाले अर्को वर्ष लिग-२ र च्यालेन्ज लिग खेल्ने टोलीको छिनोफानो हुनेछ । यी चार टोलीबीच नतिजाको अंक गणना अनुसार शीर्ष २ मा रहने टोलीले ४ वर्षका लागि ओडीआइ मान्यता जोगाउँदै लिग-२ खेल्नेछ । पुछारका दुई टोली भने च्यालेन्ज लिगमा झर्नेछन् ।

त्यसैले यूएई र पिएनजीले अब ओडीआइ मान्यता जोगाउने हो भने प्लेअफ छनोटका खेलमार्फत चार टोलीको अंक तालिकामा क्यानडा र जर्सीभन्दा माथि रहनुपर्नेछ ।

Success

Thank you for your time.