default_image

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू१९ क्रिकेट टोली पहिलो अभ्यास खेलमा श्रीलंकाको एसएससी यू२३ सँग ३ विकेटले पराजित भएको छ ।

नेपालले प्रस्तुत गरेको २ सय ४१ रनको लक्ष्य एसएससीले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो । अन्तिम २ ओभरमा २२ रन चाहिएको अवस्थामा ४१ औं ओभरमा राशिद खानले १६ रन खर्चेपछि नेपालको जित टाढिएको थियो । अन्तिम ओभरमा एसएससीलाई जितको लागि ६ रन चाहिएको अवस्थामा कमल सिंह ऐरी बलिङमा आएका थिए । कमलले उत्कृष्ट बलिङ गर्दै खेल अन्तिम बल सम्म पुर्याएपनि अन्तिम बलमा क्याच छुट्दा नेपाल पराजित हुन पुगेको हो ।

उसका लागि ओपनर इशानले सर्वाधिक ६२ रनको योगदान दिए । पहिलो विकेटका लागि २३.२ ओभरमा १ सय ६ रनको साझेदारी एसएससीलाई ओपनर अभिष्का र इशानले मध्यम सुरुवात दिलाएका थिए । नेपालका लागि पवन सरार्फले सर्वाधिक ३ विकेट लिए । कमलसिंह ऐरीले २,सुर्य तामाङ र सागर ढकालको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि वर्षाको कारण निर्धारित समय भन्दा झण्डै साढे एक घण्टा ढिला हुँदा ४२ ओभरमा झारिएको खेलमा नेपालले टस हारेर ब्याटिङ थाल्दै ७ विकेटको क्षतिमा २ सय ४० रन बनायो । नेपालका लागि विकेटकीपर आशिफ शेखले सर्वाधिक ८८ रनको महत्वपूर्ण योगदान दिए । आशिफ ४० ओभरको तेस्रो बलमा क्याच आउट हुन पुगेका थिए ।

पहिलो विकेटका लागि पवन सरार्फ र रित गौतमले १३ ओभरमा ५८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । १३ ओभरको पहिलो बलमा एलवी डब्लू आउट हुनुअघि सरार्फले ३० रन जोडे । १६ ओभरको पहिलो बलमा रित गौतम ३१ रनमा स्टम्पिङ आउट हुँदै पेभिलिएन फर्के ।

लोकेश बम १ र कप्तान रोहित कुमार पौडेल ८ रनमा आउट हुँदा धरमराएको नेपाली ब्याटिङलाई सन्दीप जोराले आशिफलाई राम्रो साथ दिदै ३३ रन जोडेपछि नेपालले बलियो योगफल तयार पार्न सफल भएको हो । कुशल मल्ल १० रनमा आउट भए । हरि बहादुर चौहान १८ र भिम सार्की १५ रनमा अविजित रहे ।

एसीसी यू१९ एसिया कप सेप्टेम्बर ५ देखी १४ सम्म श्रीलंकामा चल्ने छ । एसिया कप अघि नेपालले थप दुई अभ्यास खेल खेल्ने छ । नेपाल भाद्र ७ मा त्यसतर्फ लागेको थियो । समुह बी मा रहेको नेपालले टेष्ट राष्ट्र श्रीलंका,बंगलादेश र युएईसँग खेल्ने छ । समुह ए मा भारत,पाकिस्तान,अफगानिस्तान र कुवेत छन् । समुहका शीर्ष दुई दुई टोली सेमिफाइनल प्रवेश गर्ने छन् ।

Success

Thank you for your time.