दिपक बोहोरा
पाँचथर – विजय युथ क्लब हेटौडालाइ ४–२ ले पराजित गर्दै विर्ता युनाइटेड झापा वाइ वाइ दाश्रो पाँचथर गोल्डकप नाइन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। बिर्ता प्रतियोगिताको साबिक विजेता हो।
फिदिम मा.बि मैदानमा भएको खेलमा विर्ताका पुष्प मादेनले ह्याट्रिक गरे भने राष्ट्रिय टोली तथा नेपाल आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठले पनि गोल गरे। हेटौडाको लागी विदेशी खेलाडी इब्राहिम र मुस्ताफाले समना १ गरे ।
हेटौडाले खेलमा २ गोलको अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन। इब्राहिमले वान भर्सेस वानमा राम्रो गोल गर्दै १२ औं मिनेटमा विजय युथ क्लबलाई अग्रता दिलाएका थिए भने १९ औ मिनेटमा मुस्तफाले गोल गर्दै विजय युथ क्लबको अग्रता दोब्बर पारे । मुस्तफाले डिबक्स नजिकबाट प्रहार गरेको फ्रिकिक गोलमा परिणत भएको थियो ।
२ गोलले पछि परेको विर्ताका लागि २० औं मिनेटमा पुष्पले गोल गरे। त्यस्तै नवयुगले ५४ औं मिनेटमा बराबरी गोल गरेका थिए। योगेश गुरुङको क्रसमा नवयुगको लामो प्रहार गोलमा परिणत भएको थियो।
पुष्पले ६७ औं मिनेटमा गोल गर्दै बिर्तालाई अग्रता दिलाए भने ७७ औं मिनेटमा ह्याट्रिक पुरा गर्दै उनले विर्ताको अन्तिम ४ मा स्थान पक्का गरे। खेलमा ह्याटिक गरेका पुष्प म्यान अफ दि म्याच हुँदै नगद ५ हजार जिते । विर्ताले सेमिफाइनलमा शुक्रबार रेड हर्स इलामसँग प्रतिस्पर्धा गर्नेछ ।
आजको खेलसँगै पाँचथर गोल्डकपको सेमिफाइनलको समिकरण पुरा भएको छ । न्युस्टार सुनसरी , मिसन युनाइटेड ताप्लेजुङ र रेडहर्स इलाम यसअघि नै सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन् ।
सुरुआती अग्रता जोगाउन नसक्दा आफ्नो टोली पराजित हुनु परेको हेटौडाका प्रशिक्षक सुबिन घिमिरेले बताए । बिर्ताका प्रशिक्षक भुपेन लिम्बुले भने राम्रो टिमवर्कका कारणनतीजा आफ्नो पक्षमा आएको बताए ।
पाँचथर गोल्डकपको भोलीको खेल
न्युस्टार सुनसरी बिरुद्ध मिसन युनाइटेड ताप्लेजुङ