default_image

3 years ago

January 11, 2021

स्वर्ण विजेता पुष्पाको दुई सपना

प्रकाश तिमल्सिना, काठमाडौं “गाह्रो रुट, गर्मी र तयारी समय छोटो भएकोले समय चाहिँ राम्रो ल्याउन सकिएन । जय नेपाल” बंगलादेशमा आइतबार शेख मुजाहिदिन दक्षिण एसियाली म्याराथनको उपाधि जितेपछि धाविका पुष्पा भण्डारीले फेसबुकमा यसरी आफ्नो अनुभव लेखिन् । त्यसको पहिलो भागमा भने यस्तो थियो ,‘धन्यवाद चन्द्र गुरु, उत्कृष्ट प्रशिक्षक धनिराम गुरु, किरण दाई, नेपाल एथलेटिक्स संघ, […]

89 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

“गाह्रो रुट, गर्मी र तयारी समय छोटो भएकोले समय चाहिँ राम्रो ल्याउन सकिएन । जय नेपाल”

बंगलादेशमा आइतबार शेख मुजाहिदिन दक्षिण एसियाली म्याराथनको उपाधि जितेपछि धाविका पुष्पा भण्डारीले फेसबुकमा यसरी आफ्नो अनुभव लेखिन् । त्यसको पहिलो भागमा भने यस्तो थियो ,‘धन्यवाद चन्द्र गुरु, उत्कृष्ट प्रशिक्षक धनिराम गुरु, किरण दाई, नेपाल एथलेटिक्स संघ, नेपाल एपिएफ क्लब र अरु शुभेच्छा गर्ने सबै जनलाई धेरै धेरै धन्यवाद ।’

केहि शब्दमा उनले सबै प्रति आभार व्यक्त गर्न भ्याएकी थिइन् । बंगलादेश पुगेदेखि नै मातापितासँग हालचाल सोध्न नपाउँदा भने उनलाई खल्लो लागेको थियो । ‘यहाँ आएदेखि बुवाआमासँग कुरा गर्न पाएको छैन । अरु त सबै ठिकै छ’, सल्यानको शारदा नगरपालिका १४ मालेनेटाकी २५ वर्षे पुष्पाले हाम्रो खेलकुदसँग म्याराथन जितेको केहि समयपछि भनिन्, ‘यहाँ मैले जिते भन्ने पनि उहाँहरुलाई थाहा छैन होला ।’

२ घण्टा ५९ मिनेट ४१ सेकेण्डको समय निकाल्दै उनले बंगलादेशमा म्याराथन जितेकी थिइन् । गत वर्ष स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जित्दा भन्दाको खराब समय निकाल्दा उनी च्याम्पियन बन्न सफल भएकी थिइन् । त्यसको अर्थ कोभिड १९ का कारण पुष्पाको मात्र होइन दक्षिण एसियाका अन्य धावकको प्रदर्शनमा पनि परेको थियो ।

पुष्पा च्याम्पियन बनेको म्याराथनमा भारतीय खेलाडीले रजत र कास्य पदक जितेका थिए । जबकी पुष्पाले १३ औं सागमा रजत जित्दा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । पुष्पाले कान्छीमाया कोजुको कीर्तिमानलाई भंग गत वर्ष मंसिर २१ गते रजत पदकका साथ उक्त कीर्तिमान बनाएकी थिइन् । उनले (४२.१९५ किलोमिटर) २ घन्टा ५० मिनेट ११ सेकेण्डमा पूरा गर्दै नयाँ कीर्तिमान बनाएकी थिइन् । कान्छीमायाले सन् २०१६ मा राखेको २ घन्टा ५५ मिनेट ५७ सेकेन्डको कीर्तिमान पुष्षाले त्यति बेला भंग गरेकी थिइन् ।

‘तयारी खासै थिएन । जसले गर्दा समय राम्रो निकाल्न सकिन’, उनले खुसी हुँदै भनिन्, ‘स्वर्ण जित्दा स्वभाविक हो खुसी त लाग्यो नै । धनिराम (चौधरी) गुरुलाई धन्यवाद दिन चाहन्छु । उहाँले राम्ररी नसिकाएको भए मैले यो सफलता पाउने थिइन ।’

झन्डै एक दशकको खेल जीवनमा उनले बंगलादेशको सफलता र सागको रजत पदक खेल जीवनकै उत्कृष्ट लागेको सुनाइन् । ‘दक्षिण एसियामा यो मेरो पहिलो स्वर्ण पदक हो । मेरो खेल जीवनको यो ठूलो सफलता हो’, उनले थपिन्, ‘त्यस्तै सागमा रजत पदक जिते र कीर्तिमान बनाएको थिए । त्यो पनि उत्तिकै ठूलो हो ।’

परिवार, गुरुसँगै उनको सफलताको अर्को श्रेय आफ्नो संगठनलाई नै दिन चाहान्छिन् । ‘हामी जस्ता खेलाडीका लागि विभागिय टोली हुने थिएन भने मैले जस्तो धेरैले यहाँ सम्मको यात्रा तय गर्न सक्दैन थियौं होला’, उनले भनिन्, ‘एपिएफमा आबद्ध भएयता मैले एकपछि अर्को सफलता प्राप्त गर्दै गएकी हुन् ।’

खेल जीवनलाई निरन्तरता दिन विभाग धेरै खेलाडीको संरक्षक मान्ने पुष्पाको खेल जीवन भने सल्यानबाटै सुरु भएको थियो । उनले २०६८ सुदूरपश्चिममा भएको छैटौं राष्ट्रिय खेलकुदमा आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दा रजत पदक जितेकी थिइन् । अर्को वर्ष (२०६९) उनले ३९ औं लुम्बिनी च्याम्पियनसिपमा म्याराथनमा स्वर्ण पदक जितेकी थिइन् । त्यसपछि एपिएफमा आबद्ध भएर उनको खेल जीवन अझै फराकिलो भएको थियो । एपिएफबाट २०७३ मा भएको सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण र गत वर्ष भएको आठौंमा उनले रजत पदक जितेकी थिइन् ।

पुष्पालाई लाग्छ विभागिय टोलीले खेलाडी भर्ती नगर्ने हो भने आफ्नो जस्तै धेरै खेलाडीको खेलाडी बन्ने सपना पूरा हुने थिएन । ‘एपिएफमा नभएको भए सायद मैले खेललाई निरन्तरता दिने थिएन । आर्थिक अवस्था सामान्य हुने खेलाडीको जीवन सहज छैन’, उनले भनिन्, ‘हामीले विभागबाट तलब पाउँदा त गाह्रो छ । नियमित तलबले मात्र काठमाडौंको बसाई गाह्रो छ । पुरस्कारबाट आउने पैसाले हामीले डाइट र जुत्ता किन्ने हो । नत्र त पैसा पुग्दैन ।’

खेल अनुसार खेलाडीका पोशाक जुत्ता पनि फरक हुन्छन् नै । पुष्षाको भनाईबाट पनि यो बुझ्न अझ सजिलो हुन्छ, ‘म्याराथनका लागि राम्रो जुत्ता चाहिन्छ । मैले अर्को ४२ हजारको जुत्ता मगाएको छु । यहाँ पनि ३६ हजार रुपैयाँ पर्ने जुत्ता लगाएर दौडिएको हो । एउटा सामान्य परिवारबाट आउने खेलाडीका लागि यो सम्भव नै छैन । विभागबाट नियमित तलब आएर मात्र हाम्रो खेल जीवन अघि बढेको छ ।’

म्याराथनमा महिला खेलाडीले समय सुधार गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै भन्छिन्, ‘हाम्रोमा पुरुष खेलाडीले २ घन्टा १८ मिनेटमा म्याराथन सक्दा हामीले २ घन्टा ५० मिनेटको आसपासमा दौडिरहेका छौं । यसमा हामीले धेरै सुधार गर्नुपर्ने छ मेरो कोसिस त्यसमा हुनेछ ।’

समय सुधारसँगै उनका प्रष्ट दुई लक्ष्य छन् । पहिलो सागमा स्वर्ण पदक जित्नु र अर्को देशका लागि ओलम्पिक खेल्नु । १३ औं सागमा स्वर्णबाट चुकेकी पुष्पा अर्को संस्करणमा त्यो सपना पूरा गर्न चाहन्छिन् । अर्को हरेक खेलाडी जस्तै विश्व खेलकुदको कुम्भमेलाका रुपमा रहेको ओलम्पिकमा देशको प्रतिनिधित्व गर्ने २५ वर्षिया पुष्पाको अर्को सपना हो ।

Success

Thank you for your time.