default_image

3 years ago

July 14, 2021

ओलम्पिक : गौरिकासँगै एलेक्सले पनि झण्डा बोक्ने

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिकमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि सर्वाधिक पदक जित्ने पौडीकी गौरिका सिंह र पौडीकै एलेक्जान्डर गाडेगार्ड शाह (एलेक्स) ले उद्घाटन समारोहको मार्च पासमा संयुक्त रुपमा देशको झण्डा बोक्ने भएका छन् । टोकियो ओलम्पिक यात्राका विषयमा मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाल ओलम्पिक कमिटी (एनओसी) ले गौरिकाले बोक्ने […]

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिकमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि सर्वाधिक पदक जित्ने पौडीकी गौरिका सिंह र पौडीकै एलेक्जान्डर गाडेगार्ड शाह (एलेक्स) ले उद्घाटन समारोहको मार्च पासमा संयुक्त रुपमा देशको झण्डा बोक्ने भएका छन् ।

टोकियो ओलम्पिक यात्राका विषयमा मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाल ओलम्पिक कमिटी (एनओसी) ले गौरिकाले बोक्ने जानकारी दिएपनि अब दुवै जनाले बोक्ने बताइएको छ । ‘लैगिंक समानताका आधारमा एक महिला र एक पुरुषलाई मार्च पासमा झण्डा बोक्न लगाउने भन्ने अन्तर्राष्ट्रिय ओलम्पिक काउनिन्सल (आईओसी) को नीति अनुरुप टोलीको सिनियर खेलाडी र सागको पदक विजेताका रुपमा गौरिका र टोलीको एक मात्र पुरुष खेलाडी भएकाले एलेक्सले संयुक्त रुपमा झण्डा बोक्ने तय भएको छ’, एनओसीका उपाध्यक्ष एवंम् कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले बुधबार हाम्रो खेलकुदसँग भने ।

आईओसीले कार्यकारी बोर्डले मोर्च ४ मा ओलम्पिकको उद्घाटको मार्च पासमा हरेक देशको एक महिला र एक पुरुषले संयुक्त रुपमा झण्डा बोक्न पाउने प्रावधान पास गरेको थियो । त्यस्तै त्यो अनिवार्य शर्त नभएपनि सम्बन्धित सबै सदस्य राष्ट्रलाई त्यो अवसरको उपयोग गर्न प्रेरित गर्ने निर्णय गरेको थियो । ओलम्पिक यात्राको नाम दिएर मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा भने एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले गौरिकाले झण्डा बोक्ने जानकारी दिएका थिए ।

डेढ वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं सागमा गौरिकाले सर्वाधिक ४ स्वर्ण पदक जितेकी थिइन् । एकै संस्करणमा ४ स्वर्ण पदक जित्ने गौरिका पहिलो नेपाली हुन् । एनओसीका अनुसार टोकियो ओलम्पिकमा ५ खेलाडीसहित २६ जनाले सहभागिता जनाउने भएका निश्चित भएको छ । ४ खेलमा ४ प्रशिक्षक, ५ खेलाडी तथा अन्यमा भने पदाधिकारी रहेका छन् ।

गौरिकाको यो दोस्रो ओलम्पिक सहभागिता हो । रियो ओलम्पिकमा १३ वर्षको उमेरमा गौरिकाले देशको प्रतिनिधित्व गरेकी थिइन् । त्यति बेला उनी सबैभन्दा कम उमेरको खेलाडी समेत बनेकी थिइन् । टोकियो ओलम्पिक साउन ८ गतेदेखि २४ गते सम्म आयोजना हुनेछ । कोरोना भाइरस संक्रमणको महामारीका कारण निर्धारित समयमा स्थगन भएकोे ओलम्पिक एक वर्षको अन्तरालमा सुरु हुँदा नेपालको सहभागिताको सबै तयारी पूरा भइसकेको एनओसीले जनाएको छ ।

विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सन् १९६४ मा टोकियो ओलम्पिकबाटै नेपालले भाग लिन सुरु गरेको थियो । यसपटक पनि टोकियामा नै ओलम्पिक हुँदैछ । ओलम्पिक नेपालको १४ औं सहभागिता हो । गौरिकासँगै पौडीका एलेक्जान्डर गाडेगार्ड शाह, सुटिङका कल्पना परियार, जुडोका सोनिया भट्ट तथा एथलेटिक्सकी सरस्वति चौधरी छन् ।

गौरिकाले महिला १०० सय मिटर फ्रि स्टाइल र एलेक्सले पुरुष १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । कल्पनाले महिला १० मिटर एयर राइफल, सानियाले महिला ४८ केजी तौल समूह तथा सरस्वतिले महिला १०० मिटर दौडमा देशको प्रतिनिधित्व गर्नेछिन् । प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्राकुमारी मल्ल छन् ।

गौरिका र एलेक्स तथा एथलेटिक्सका सरस्वती ‘युनिभर्सियालियाटी प्लेस’ अन्तर्गत ओलम्पिकमा भाग लिदैछन् । कल्पना र सोनिया खेलाडी आमान्त्रित अर्थात ‘वाइल्ड कार्ड’ को आधारमा सहभागी हुनेछन् ।

नेपाली टिमको ‘सेफ द मिसन’ राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव रमेश कुमार सिलवाल छन् । एनओसीका अनुसार टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टिमको तयारी २०१९ को मे महिनाबाट सुरु भएको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) ले प्रदान गरेको ओलम्पिक छात्रवृत्तिमा ७ खेलका १२ खेलाडीको सहभागिता थियो । अहिलेसम्मको नेपालको ओलम्पिक सहभागिता इतिहासमा यो नै सबैभन्दा लामो, व्यवस्थित र बलियो तयारी रहेको एनओसीको दानबी छ ।

तयारी कोरोना भाइरस संक्रमणको महामारी र लक डाउनको विषम परिस्थितिमा पनि सुचारु रहेको थियो । ओलम्पिक टिमको तयारी एनओसी, युवा तथा खेलकूद मन्त्रालय, राखेप र सम्बन्धित खेल संघबीचमा समन्वय भएको एनओसीले जनाएको छ ।
ओलम्पिक छात्रवृत्तिबाट दुई करोड रुपैंया बराबर बजेट खर्च भएको एनओसीले जनाएको छ । पछिल्लो समय भने ओलम्पिकमा सहभागी हुने खेलाडीहरूको बन्द प्रशिक्षणको व्यवस्थापन राखेपले गरेको बताइएको छ ।

प्रतियोगिता आयोजक जापानले नेपाललाई कोरोना भाइरस संक्रमणको आधारमा समूह ‘वान’ मा राखेको छ । स्वास्थ्य मापदण्ड अनुसार प्रतियोतिगामा सहभागी हुने सबै खेलाडी, प्रशिक्षक, व्यवस्थापक र पदाधिकारीले दुई डोज खोप लिइसकेका जनाएको छ । त्यस अनुसार टोकियो प्रवेश गर्न अगाडि नेपाली प्रतिनिधिले सात दिन लगातार ‘पीसीआर’ परिक्षण गर्नुपर्ने हुन्छ । टोकियो पुग्ने सहभागीले तीन दिन ‘क्वारेन्टिन’ मा बस्नु जानकारी दिइयो ।

प्रतियोगितामा सहभागी हुने सबै खेलाडी, प्रशिक्षक तथा पदाधिकारीहरूको खेल पोसाक केल्मी नेपालले प्रायोजन गरेको छ । यसका लागि एनओसी र नेपालका लागि केल्मीको आधिकारि विक्रेता कामरु ट्रेडिङबीच प्रायोजन सम्झौता भएको थियो । अलिबाबा अन्तर्गतको दराजले प्रतियोगिताको प्रचार प्रसार तथा प्रवर्द्धनका लागि प्रायोजन गरेको छ । यसका लागि पनि एनओसी र दराजबीच अनुबन्धमा हस्ताक्षर भएको बताइएको छ ।

ओलम्पिकमा नेपालबाट सहभागी अफिसियलहरु :

जीवनराम श्रेष्ठ – अध्यक्ष, एनओसी

निलेन्द्रराज श्रेष्ठ – महासचिव, एनओसी

चतुरानन्द राजवैध – उपाध्यक्ष तथा कार्यकरी निर्देशक, एनओसी

तेजबहादुर गुरूङ – उपाध्यक्ष, एनओसी

सुनिलकुमार श्रेष्ठ – उपाध्यक्ष, एनओसी

पिताम्बर तिम्सिना – सहमहासचिव, एनओसी

कुमारी तुलसी थापा – सचिव, एनओसी

प्रकाश शमशेर राणा – सदस्य, एनओसी

राम अवाले – सदस्य, एनओसी

केदार न्यौपाने – सचिव, युवा तथा खेलकुद मन्त्रालय

शिव कोइराला – उपाध्यक्ष, राखेप

रमेशकुमार सिलवाल – सदस्यसचिव, राखेप

सुभाष श्रेष्ठ – सदस्य, राखेप

सम्पन्न श्रेष्ठ – सदस्य, राखेप

नविशमान सिंह प्रधान – मेडिकल

प्रेम बराल – कर्मचारी, टोकियो नेपाली दुतावास

रुपेश डंगोल – स्वयंसेवक, टोकियो स्थित नेपाली स्वंयसेवक

Success

Thank you for your time.