काठमाडौं, भदौ २८ गते।
आयोजक काठमाडौं बर्नहार्ट कलेजले छैटौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो जित हात पार्दै विजयी सुरुआत गरेको छ ।
बल्खुस्थित घरेलु कोर्टमा भएको ब्वाइजको उद्घाटन खेलमा बर्नहार्टले ज्ञाननिकेतनलाई ५१–२५ ले पराजित गर्यो । विजयी टिमका लागि आशिष विष्टले १२ अंक जोडे । गल्र्समा बर्नहार्टले रोजबर्डलाई १९–१२ ले हरायो । बर्नहार्टको जितमा सोफिया पुन मगरले १२ अंक योगदान गरिन् ।
ब्वाइजको अन्य खेलमा प्रिमियर, प्राइम, एन्जल्स हर्ट र रोजबर्डले पनि जित आत्मासात् गरे । प्रिमियरले सानलाई ४९–४२ ले पन्छायो । प्रिमियरका दिवास पौडेलले १७ स्कोर गरे । सुरजको १७ अंक सहयोगमा प्राइमले काठमाडौं मोडेल कलेज (केएमसी) माथि ६७–१८ को सहज जित दर्ता गर्यो ।
एन्जल्स हर्टले न्यु समितलाई ४८–१८ ले हरायो । विजेताका निकेश मगरले २४ अंक जोडे । रोजबर्डले एसलाई ३९–३५ ले निराश पार्यो । रोजबर्डका पल्लव महर्जनले १६ अंक जोडे ।
प्रतियोगिताको आयोजक बर्नहार्टका सहायक प्रिन्सिपल पुरुषोत्तम विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा ब्वाइजतर्फ २५ र गल्र्समा ७ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक किरण महर्जनले जनाएका छन् । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको फाइनल असोज ५ गते हुनेछ ।