एजेन्सी – इटालियन च्याम्पियन तथा लिगको शीर्षस्थानमा रहेको युभेन्टसले शनिबार जारी टोरिनोविरुद्ध खेलको पहिलो हाफमा २-१ को अग्रता लिएको छ ।
खेलको दोस्रो मिनेटमा नै अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले युभेन्टसलाई सुरुवाती अग्रता दिलाए । जुआन क्वाडराडोको पासलाई पेनाल्टी क्षेत्रनजिक नियन्त्रणमा लिँदै डिबालाले बक्सभित्र २ डिफेन्डरलाई छलाउँदै गरेको प्रहार गोलमा परिणत भएको थियो । डिबालाको यो पछिल्लो ५ खेलमा पाँचौ गोल हो ।
१८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको प्रहारलाई टोरिनोका गोलरक्षक साल्भाटोरे सिरिगुले उत्कृष्ट बचाउ गरे । उक्त रिबाउन्डमै रोनाल्डो दिएको पासमा बर्नार्डेस्कीको बाइसाइकल किकको प्रहार पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।
२९ औं मिनेटमा क्वाडराडोले युभेन्टसको अग्रता दोब्बर पारे । रोनाल्डोले पेनाल्टी क्षेत्रभित्र दिएको पासलाई क्वाडराडोले अगाडी बढाउँदै दोस्रो पोस्टमा गरेको प्रहारलाई सिरिगुले बचाउन सकेनन् ।
इन्ज्युरी समयमा म्याथिस डी लिग्टले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि टोरिनोले खेलमा फर्कने अवसर पाएको थियो । टोरिनोका कप्तान आन्द्रीए बेलोट्टीले पेनाल्टीमा गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
यस खेलमा जित दर्ता गरे युभेन्टसले अंक तालिकाको शीर्षस्थानमा ७ अंकको अग्रता बनाउनेछ । दोस्रो स्थानको लाजियोली आज नै घरेलु मैदानमा मिलानसँग खेल्दैछ ।