default_image

2 years ago

February 16, 2022

कुशललाई बाहिर राख्दै शरद र ज्ञानेन्द्रमाथि जोखिम

भुपेन्द्र जिसी, काठमाडौं टि२० क्रिकेट भनेको नै आक्रामक खेल हो । यस शैलीमा आक्रामक ब्याटरको आवश्यकता पर्छ । ठूला सट खुलेर खेल्नुपर्छ । डट बल र अनि एक रनमा संघर्ष होईन । शुक्रबारदेखि सुरुहुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए का लागि नेपालले मंगलबार अन्तिम १४ सदस्य टोली घोषणा गर्दा आक्रामक बायाँ हाते ब्याटर कुशल […]

276 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

टि२० क्रिकेट भनेको नै आक्रामक खेल हो । यस शैलीमा आक्रामक ब्याटरको आवश्यकता पर्छ । ठूला सट खुलेर खेल्नुपर्छ । डट बल र अनि एक रनमा संघर्ष होईन । शुक्रबारदेखि सुरुहुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए का लागि नेपालले मंगलबार अन्तिम १४ सदस्य टोली घोषणा गर्दा आक्रामक बायाँ हाते ब्याटर कुशल मल्ल नै पर्न सकेनन् ।

नेपालले चार देश सम्मिलित टि२० आई सिरिजपछि विश्वकप छनोट खेल्ने अन्तिम टोली घोषणा गरेको थियो । खराब प्रदर्शन गरेका शरद भेषावकर टोलीमा हुँदा एकै ओभरमा खेल मोड्न सक्ने क्षमता भएका कुशल अट्न नसक्नु आश्चर्य थियो । सन् २०१९ पछि टि२० आई टोलीमा पूनरागमन गरेका शरदले त्यसलाई सदुपयोग गर्न सकेनन् ।

शरद टि२० खेलाडी नभएको भन्दै तीन वर्षअघि नेपालले हटाएको थियो । सिरिजमा ज्ञानेन्द्र मल्ल र शरदलाई प्लेइङ ११ तीनै खेलमा मौका दियो । तर दुवैको प्रदर्शन अपेक्षा अनुसार थिएन । प्रदर्शनमात्र होईन शरदको फिल्डिङ र फिटनेस पनि कमजोर देखिन्छ । शरदले ३ खेलमा १५ बल खेलेर त्यतिनै रन बनाए । फिनिसरको काम अन्तिममा आक्रामक क्रिकेट खेल्नु हो । शरदले ठूला सटको लागि प्रयास नै गर्न सकेनन् । शरद बाउन्ड्री भन्दा स्ट्राइक परिवर्तनमा बढी केन्द्रित भए । उनी ओमानसँग ४ बलमा ४ रनमा र युएईसँग ८ बलमा १० रनमा अविजित थिए । आयरल्यान्डसँग ३ बलमा १ रन बनाए । ज्ञानेन्द्र

युएईसँग ओपनिङ गर्दै १९ बलमा २ चौका र १ छक्कासहित २२ रनमा आउट भए । ज्ञानेन्द्र आयरल्यान्डसँग १२ बलमा ५ र ओमानसँग १६ बलमा १३ रनमा रन आउट भएका थिए । यस सिरिजपछि ज्ञानेन्द्र र शरद मध्य एक अन्तिम टोलीमा अट्ने अनुमान थियो । प्रदर्शनले ज्ञानेन्द्र अघि थिए । तर दुवै खेलाडीले मौका पाए र कुशल परेनन् ।

कुशललाई सबै खेलमा मौका दिनुपर्ने थियो । कुशल बायाँ हाते टोलीका एक मात्र ब्याटर हुँदा रणनीतिमा ठूलो प्रभाव पार्छ । स्पिनमा राम्रो विकल्प हुन् । विष्फोटक ब्याटिङ उनको खुबी हो । जुन क्षमता कमै खेलाडीमा पाइन्छ । अन्तिम खेलमा आयरल्यान्डसँग १६ बलमा ९ रनमा आउट भए । कुशल मात्र होईन त्यो खेलमा आसिफ र भुर्तेल बाहेक अन्य प्रमुख ब्याटरको स्ट्राइक रेट एक सय कटेको थिएन । शरदको प्रधानमन्त्री कप टि२० प्रतियोगितामा प्रदर्शन निकै कमजोर थियो । युवा खेलाडीको बाहुल्यता भएपछि अनुभवको आवश्यकताले शरदलाई समेटेको थियो । तर सिरिजपछि अन्तिम टोलीमा स्थान बनाउन उनलाई कठिन थियो ।

कुशल मल्लले ११ टि२० आई खेलमा १४९.०५ को स्ट्राइक रेटमा १ सय ५८ रन बनाएका छन् । टि२० मा १ सय५० को स्ट्राइक रेट धेरै राम्रो मानिन्छ । शरदले २० टि२० आई खेलमा ९९.०८ को स्ट्राइक रेटमा ३ सय २५ रन बनाएका छन् । कुशल र शरदको स्ट्राइक रेटले आक्रामक ब्याटिङको स्तर प्रष्टाउँछ । शरदले टि२० आईमा अर्धशतक बनाउन सकेका छैनन् ।

गत वैशाखमा भएको त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३८ रन बनायो । नेपालले टि२० आईमा बनाएको सर्वाधिक ठूलो योगफल थियो । कुशलले २४ बलमा ५ छक्का र २ चौकासहित ५० रनको कीर्तिमानी अविजित इनिङ खेलेपछि सम्भव भएको थियो ।

दुई वर्षअघि अमेरिकासँग टियु मैदानमा ओडिआईमा डेब्यू खेलमा कुशलले अर्धशतक जोडेका थिए । कुशल ओडिआई र टि२० दुवैमा अर्धशतक बनाउने विश्वकै कान्छा खेलाडी हुन् । टोलीमा बायाँ हाते ब्याटरका रुपमा गुलशन झा छन् । उनी खेल्ने सम्भावना निकै कम छ । रणनीतिक हिसाबमा बायाँ हाते खेलाडीको धेरै महत्व हुन्छ । युएईले यस सिरिजमा उत्कृष्ट ब्याटिङ गर्नुमा दायाँ हाते चिराग सुरी र बायाँ हाते रोहन मुस्तफाको मिलेको जोडी एक हो ।

कुशल नेपालका भविष्य हुन् । कुशल एक दुई खेलमा कमजोर प्रदर्शन गरेपनि त्यसबाट सिक्दै जान्छन् । आज नसके भोली त्यसलाई सदुपयोग गर्छन् । यसरी उनी राम्रो खेलाडी बन्ने हुन् । युवा खेलाडीले गल्तीबाटै सिक्छन् । गल्ती नगरि त प्रशिक्षकले जति सिकाएपनि सुधार हुँदैन । गल्ती गरेपछि सिक्ने र सुधार गर्ने अवसर नभएपछि कुनैपनि खेलाडीले सुधार गर्न सक्दैन ।

कुशल जस्ता बहु प्रतिभाले भरिएका युवा खेलाडीमा धैर्यता देखाउन नसक्नु नेपाली क्रिकेटको लागि राम्रो संकेत होइन । युवा खेलाडी क्षमता भएर मात्र राम्रो खेलाडी बन्न सक्दैन टोलीले त्यतिनै धैर्यता, मौका र विश्वास दिलाउन सक्नुपर्छ । अनि मात्र खेलाडी म्याच विनर बन्छ ।

शरदको यसपछि टोलीमा पर्ने नपर्ने निश्चित छैन । गत असोजमा ओमान भ्रमणमा कुशलको प्रदर्शन राम्रो थिएन । तर त्यो ओडिआई थियो । ओडिआई र टि२० धेरै फरक विश्व फ्रेन्चाइज लिग खेलि राखेका कप्तान सन्दीपलाई राम्रोसँग थाहा छ । कुशललाई नेपालले केहि ओपनिङ त कहिले फिनिसरको भूमिकामा खेलाएको छ । ब्याटिङ नचल्नुमा अस्थिर भूमिका एक हो । कमजोर प्रदर्शनमा कुशलमात्र होईन कप्तान, प्रशिक्षक र टिम म्यानेजमेन्ट पनि त्यतिनै जिम्मेवार छन् ।

शरद र ज्ञानेन्द्र दुवै टि२० विशेष खेलाडी मानिदैनन् । टि२० क्रिकेटमा एक देखि पाँच नम्बरसम्म ब्याटिङक्रमको प्रदर्शनले धेरै प्रभाव पार्छ । नेपालको ओपनिङ आसिफ शेख र कुशल भुर्तेलले गर्नेछन् । तेस्रो नम्बरमा नेपालले ज्ञानेन्द्र मल्ल वा लोकेश बमलाई खेलाउने छ । पहिलो खेलमा ओमानसँग ज्ञानेन्द्र तेस्रो, दोस्रो खेलमा युएईसँग ओपनिङ र आयरल्यान्डसँग पाँचौं नम्बरमा गरेका थिए । अनुभवको आधारमा ज्ञानेन्द्रको सम्भावना बलियो छ । चौथो नम्बरमा दीपेन्द्रसिंह ऐरी खेल्ने छन् ।

पाँचौं नम्बरमा शरद, आरिफ शेख र लोकेश बम त्यसका दाबेदार हुन् । ज्ञानेन्द्र र दीपेन्द्रले राम्रो वातावरण बनाइदिँदा त्यसपछिका ब्याटरले विष्फोटक ब्याटिङ खुलेर गर्न सक्छन् । पाँचौं नम्बरमा लोकेशको सम्भावना बढी छ । शरदलाई छैटौं नम्बरमा खेलाएर अर्थ हुँदैन । त्यो नम्बरमा बल डट होईन विष्फोटक ब्याटरको आवश्यक पर्छ । त्यसैले कुशल सहि विकल्प हुन सक्थे । अब छैटौं नम्बरमा आरिफ र सातौं नम्बरमा विवेक यादव त्यसका दाबेदार हुन् । आरिफ र विवेक दुबै तीव्र गतिका राम्रा विकल्प हुन् । आरिफले ओमान भ्रमणमा अलरान्ड प्रदर्शन गर्दै प्रभाव छाडेका छन् ।

घरेलु क्रिकेटमा विष्फोटक फिनिसरको छवि बनाएका विवेक यादवलाई ओमानविरुद्ध डेब्यू दियो । तर युएई र ओमानसँग दुबैमा ब्याटिङको अवसर पाएनन् । विवेक ब्याटिङमा आफ्नो अन्तर्राष्ट्रिय स्तर मापन गर्न सकेनन् । विश्वकप छनोटमा सिधैं ब्याटिङ गर्दै प्रदर्शन कमजोर भएमा त्यसको जिम्मेवार विवेक की टिम म्यानेजमेन्ट ? किनभने घरेलु र अन्तर्राष्ट्रिय प्रदर्शनमा धेरै फरक छ । स्पिनर सागर ढकाल र साहब आलम त्यसका ज्वलन्त उदाहरण हुन् ।

यो सिरिजमा गुमाउनु केहि थिएन । सबै सिक्ने अवसर थियो । सिक्ने ठाउँमै नेपालले सिकाएन । एकै पटक ठूलो अपेक्षा गर्नु पनि मुर्खता हो । तीन खेलबाट विवेक आफैैंले धेरै कुरा सुधार गर्न पाउथे । शरदले त डेढ दशकदेखि अन्तर्राष्ट्रिय खेल खेल्दै आएका छन् । विवेकलाई ब्याटिङनै नगराई तेस्रो खेलमा आयरल्यान्ड बेन्चमा राख्यो ।

विश्वकप खेल्ने आशा कुशल, विवेक र लोकेश जस्ता खेलाडीले बढी देखाएका हुन् । सिरिजमा यी खेलाडीलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने हो । युवा खेलाडी असफल भएमा अनि मात्र अनुभवीलाई हेर्नु पर्ने हो । तर नेपालले त्यस विपरित गर्यो । यसको प्रतिफल छनोटमा पाउनेछ । नेपालको लक्ष्य विश्वकप हो सिरिज थिएन ।

चोटका कारण तीव्र गतिको बलिङ गर्दै आएका सोमपाल कामी र करण केसी टोलीमा नहुँदा तल्लोक्रम कमजोर बनेको छ । शरद र ज्ञानेन्द्र दुवै एकसाथ प्लेइङ ११ मा खेल्ने सम्भावना देखिदैन । यी दुवैलाई खेलाउँदा लोकेश वा विवेक मध्य एकलाई बेन्चमा राख्नु पर्ने हुन्छ । विवेक र लोकेश नै टोलीमा नहुँदा झन् कमजोर बन्नेछ । जितेन्द्र मुखिया, कमलसिंह ऐरी र अभिनाश बोहरा तीव्र गतिका पहिलो रोजाईका खेलाडी हुन् ।

घाइते करणको स्थानमा कमजोर प्रदर्शन गर्दै आएका गुलशन झालाई अन्तिम १४ मा मौका दिएको छ । नेपाली टोली, यू–१९ र राष्ट्रिय टि२० प्रतियोगितामा गुलशनको प्रदर्शन भने राम्रो थिएन । स्पिनरमा सन्दीप हुनेछन् । सन्दीपलाई दीपेन्द्रले साथ दिनेछन् । दुई स्पिनर खेलाउँदा विवेक वा आरिफ मध्य एकलाई बेन्चमा राख्नु पर्ने हुन्छ ।

शरदलाई टिममा राखेर कुशललाई वैकल्पिकमा राख्ने निर्णय सहि वा गलत एक सातामै थाहा हुनेछ । टोलीमा अनुभवी खेलाडी थप्ने भन्दै समिकरणमा असर पर्ने निर्णय पक्कै राम्रो देखिदैन । टिम म्यानेजमेन्ट र प्रशिक्षकले आफ्नो रणनीतिमा राम्रो सोचेर यो निर्णय लिएका होलान् । एक खेलको आधारमा कुशल जस्ता आक्रामक ब्याटर र बायाँ हाते स्पिन विकल्पलाई बाहिर राखेर टोली घोषणा गर्नु नेपालको लागि घातक सावित हुन सक्छ ।

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

March 28, 2024

रनको वर्षा भएको खेलमा हैदराबादद्वारा मुम्बई पराजित

एजेन्सी – कीर्तिमानी योगफल सहित रनको वर्षा भएको खेलमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्स विरुद्ध जित दर्ता गरेको छ । हैदराबादले मुम्बई माथि ३१ रनको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको सबैभन्दा ठूलो योगफल खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ […]

March 27, 2024

चेन्नाईको लगातार दोस्रो जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणमा साविक विजेता चेन्नाई सुपर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा चेन्नाईले गुजरात टाईटन्स माथि ६३ रनको फराकिलो जित दर्ता गरेको हो । २०७ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो […]

Success

Thank you for your time.