एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ६५ औं खेलमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा वानखडे स्टेडियम मुम्बईमा सुरु हुनेछ ।

पाँच पटकको च्याम्पियन मुम्बई प्लेअफ दौडबाट बाहिरी सकेको छ । मुम्बईलाई यस खेल प्रतिष्ठाको लडाईं मात्र हुनेछ ।हैदराबाद १४ अंकका साथ प्लेअफमा पुग्ने अंक गणीतिय झिनो आशा मात्र बाँकी छ । १४ अंकका साथ प्लेअफमा पुग्न रोयल च्यालेन्जर्स बेंगलोर र दिल्ली क्यापिटल्सले अन्तिम खेलमा हार्नुपर्ने हुन्छ ।
बेंगलोर र दिल्लीले अन्तिम खेलमा हार्दा समान १४ अंकका साथ नेटरनरेटको कारण अन्तिम चारमा रहनसक्छ । कोलकाता नाइट राइडर्स र पन्जाब किंग्सपनि १४ अंकमा प्लेअफमा पुग्ने झिनो आशामा छन् । हैदराबाद बाँकी दुई खेलमा फराकिलो जित हात पार्न चाहन्छ ।
हैदराबाद आजको खेलमा पराजित हुँदा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्ससँगै औपचारिक रुपमा बाहिरिने तेस्रो टोली बन्नेछ । सुरुवाती दुई खेल हारेको हैदराबादले त्यसपछि लगातार पाँच खेल जितेको थियो । तर त्यसपछि लगातार पाँच खेल हारेपछि प्लेअफ अरु टोलीमा निर्भर बनेको हो ।

कप्तान केन विलियम्सन खराब लयमा छन् । निकोलस पुरन, एडेन माक्ररम र राहुल त्रिपाठीको प्रदर्शनले धेरै फरक पार्नेछ । हैदराबादको तल्लोक्रम ब्याटिङ कमजोरीको रुपमा छ । उमरान मलिक, भुवनेश्वर कुमार, मार्को यानसन र टि नटराजन तीव्र गतिका बलिङ हतियार हुन् ।
यता मुम्बई बाहिरी सकेको हुँदा विना दबाब खेल्नेछ । खराब लयमा रहेका ईशान किशनलाई आफ्नो लयमा फर्किने राम्रो अवसर रहनेछ । रोहित शर्मा पनि खराब लयबाट गुज्रिएका छन् । सूर्यकुमार यादव भने चोटका कारण छैनन् । मध्यक्रममा तिलक बर्माको प्रदर्शन महत्वपूर्ण हुनेछ ।
युवा ब्याटर बर्माले राम्रो प्रदर्शन गरेका छन् । मुम्बईको मध्यक्रम र तल्लोक्रम निकै कमजोर छ । तीव्र गतिका बलर ड्यानियल साम्सले भने पछिल्लो खेलमा राम्रो प्रदर्शन गरेका छन् । जस्प्रित बुमराहको प्रदर्शन महत्वपूर्ण हुनेछ ।