काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले युवा ब्याटर रोहित पौडेललाई आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा अमेरिका र स्कटल्यान्ड भ्रमणको लागि नेपाली टोलीको उपकप्तानमा नियुक्त गरेको छ ।

नेपालले यसै महिनाको अन्तिममा अमेरिकामा ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ । त्यसपछि जुलाईमा स्कटल्यान्डमा नेपाल र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ । क्यानले तत्कालको लागि अमेरिका र स्कटल्यान्ड भ्रमणको लागि मात्र उपकप्तानमा नियुक्त गरेको जनाएको छ ।
पछिल्लो समय सिनियर टोलीबाट सानदार प्रदर्शन गर्दै आएका रोहितले नेपाली यू–१९ टोलीको कप्तानी गरि सकेका छन् । एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवामा ग्ल्याडियटर्सको उपकप्तान समेत हुन् । क्यानले गत मंसिरमा ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएको थियो ।

त्यसपछि सन्दीपलाई कप्तानमा नियुक्त गर्दा उपकप्तान खाली रहँदै आएको थियो । दीपेन्द्र कारबाहीपछि लामो समय देखि खाली रहँदै आएको उपकप्तानमा नेपालले रोहितलाई नियुक्त गरेको हो ।
भरपर्दा युवा ब्याटर रोहितले २०१८ मा नामिबियाविरुद्ध लिष्ट ए मार्फत नेपाली टोलीमा डेब्यू गरेका थिए । नेपालबाट रोहितले १७ ओडिआई, १६ टि२० आई र ३२ लिष्ट ए खेलेका छन् । ओडिआईमा रोहितले १ शतक र चार अर्धशतक सहित कुल ६ सय २३ रन बनाउँदै नेपालबाट शीर्षस्थानमा छन् ।

रोहितले दुई महिना अघि पपुवा न्युगिनीविरुद्ध पहिलो ओडिआई खेलमा १ सय २६ रनको कीर्तिमानी शतक प्रहार गरेका थिए । जुन कुनैपनि अन्तर्राष्ट्रिय खेलमा नेपालबाट एक ब्याटरले एक इनिङमा प्रहार गरेको सर्वाधिक रन हो ।