काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिप २०२२ को सेमिफाइनलमा युएईसँग खेल्ने भएको छ । शुक्रबार हुने सेमिफाइनलमा नेपालले युएईलाई हराउन सके महिला एसिया कपमा स्थान बनाउने छ ।

युएईले समूह ए को अन्तिम खेलमा कतारलाई १ सय ५३ रनको फराकिलो अन्तरले पराजित गर्दै विजेता बन्यो । नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेताको रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएको हुन् । अर्को सेमिफाइनलमा समूह ए को उपविजेता मलेसिया र समूह बी को विजेता हङकङबीच प्रतिस्पर्धा हुनेछ ।
फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाईल्यान्ड हुनेछन् । नेपाल ४ खेलमा ३ मा जित र १ मा हारका साथ समूह बी मा दोस्रो स्थानमा रह्यो । नेपालले पहिलो खेलमा भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गर्यो । हङकङसँग नेपाल ७ विकेटले पराजित हुँदै समूह विजेता बन्ने अवसर गुमाएको थियो ।

हङकङ ४ खेलमा ८ अंकका साथ समूह बी मा शीर्षस्थानमा रह्यो । हङकङले कुवेतलाई ३० रन, बहराइनलाई ८ विकेट र भुटानलाई १४ रनले हराएको थियो । मलेसिया ४ खेलमा ३ मा जित र १ मा नतिजा विहीनका साथ समूह ए मा दोस्रो स्थानमा रह्यो । मलेसियाले सिंगापुरलाई १ सय १७ रन र कतारलाई १० विकेटले हराएको थियो । युएईसँग ३१ रनले पराजित हुँदा ओमानलाई ५३ रनले पराजित गर्यो ।
युएईले कतारविरुद्ध पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै २ सय १४ रन बनायो । युएईकी ओपनर ईशा रोहित ओजाले ६७ बलमा १८ चौका र ३ छक्कासहित १ सय १५ रनको शतकीय इनिङ खेलिन् । यो उनको दोस्रो शतक हो । यसअघि उनले बहराइनविरुद्ध गत मार्चमा ७१ बलमा २२ चौका र ६ छक्कासहित १ सय ५८ रनको शतकीय इनिङ खेलेकी थिइन् ।
यु-१९ स्टार थ्रीर्थ सतिसले ५५ रनको इनिङ खेलिन् । २ सय १५ रनको विजयी लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ६१ रन बनायो । युएई र ओमानबीचको खेल वर्षाको कारण नतिजा विहीन बनेको थियो । सिंगापुरलाई १० विकेट र मलेसियालाई ३१ रनले हराएको थियो । सेमिफाइनल शुक्रबार र फाइनल शनिबार हुनेछ ।

अंक तालिका
हङकङ ४ खेलमा ८ अंकका साथ समूह बी मा शीर्षस्थानमा रह्यो । नेपाल ४ खेलमा ३ मा जित र १ मा हारका साथ ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । कुवेत ४ खेलमा ३ अंक जोड्दै तेस्रो स्थानमा रह्यो । भुटान ४ खेलमा २ अंकका साथ तेस्रो स्थानमा रह्यो । बहराइन खेलमा २ मा हारका साथ १ अंकसाथ पुछारमा रह्यो ।
युएई समूह ए मा ४ खेलमा ३ मा जितका साथ ७ अंक जोड्दै शीर्षस्थानमा छ । मलेसिया ४ खेलमा ३ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा रह्यो । कतार ४ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ । सिंगापुर ४ खेलमा २ अंकका साथ चौथो र ओमान ४ खेलमा १ अंकका साथ पुछारमा छ ।
असार १० (जुन २४) – सेमिफाइनल
असार ११ (जुन २५) – फाइनल