काठमाडौं (हाम्रो खेलकुद) – नेपालले क्यानाडासँगको दोस्रो अभ्यास खेलमा उत्कृष्ट सुरुवात गरेको छ । किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानाडाले सुरुवाती २३ ओभरमा ५ विकेट गुमाउँदै ८२ रन बनाएको छ ।

क्यानाडाका ओपनर आरोन जोनसन ५५ बलमा ८ चौकासहित सर्वाधिक ४४ रनमा एलबीडब्लू आउट भए । भूपेन्द्रसिंह २८ बलमा १ चौकासहित १० रनमा आउट भए । दोस्रो विकेटका लागि भुपेन्द्र र आरोनले ३९ रनको साझेदारी गरेका थिए ।
क्यानाडाका ओपनर रयान खान पठान पहिलो ओभरको अन्तिम बलमा १ रनमा आउट भए । तीव्र गतिका बलर किशोर महतोले पठानलाई बोल्ड गरेका थिए । आदिल अन्सारीले दशौं ओभरको अन्तिम बलमा भूपेन्द्रलाई बोल्ड आउट गरे ।
सन्दीपले राम्रो प्रदर्शन गरेको आरोनलाई १७ औं ओभरमा एलबीडब्लू आउट गरे । स्पिनर बसिर अहमदले २० औं ओभरको चौथो बलमा विकेटकिपर विनोद भण्डारीबाट हर्ष ठकरलाई शून्यमा क्याच गराएपछि क्यानाडा ७२–४ को अवस्थामा पुगेको थियो ।
सन्दीपले अखिल कुमारलाई एक्स्ट्रा कभरमा आदिलबाट १२ रनमा क्याच गराएपछि उत्कृष्ट प्रदर्शन गरेको छ ।