काठमाडौं (हाम्रो खेलकुद) – श्रेयस मोभा र अमर खालिदले अन्तिम विकेटका लागि अविश्वसनिय साझेदारी गरेपछि क्यानाडाले दोस्रो एकदिवसिय अभ्यास खेलमा नेपाललाई १ सय ८९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानाडाले निधारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८८ रन बनायो ।

एक समय ३८ ओभरमा ११८–९ को अवस्थामा पुगेको क्यानाडालाई श्रेयस मोभा र अमर खालिदले अन्तिम विकेटका लागि ७० रनको सानदार अविजित साझेदारी गरेपछि प्रतिस्र्धात्मक योगफल तयार पारेको हो । श्रेयसले ५९ बलमा ३ चौका र २ छक्कासहित ५० रनमा अविजित रहे ।
खालिद ३६ बलमा ३ चौका र १ छक्कासहित ३० रनमा अविजित रहे । क्यानाडाका ओपनर आरोन जोनसन ५५ बलमा ८ चौकासहित सर्वाधिक ४४ रनको योगदान दिए । क्यानाडाका ओपनर रयान खानपठान पहिलो ओभरको अन्तिम बलमा १ रनमा आउट भए ।
तीव्र गतिका बलर किशोर महतोले पठानलाई बोल्ड गरेका थिए । आदिल अन्सारीले दशौं ओभरको अन्तिम बलमा भूपेन्द्रलाई बोल्ड आउट गरे । भूपेन्द्रसिंह २८ बलमा १ चौकासहित १० रनमा आउट भए । दोस्रो विकेटका लागि भुपेन्द्र र आरोनले ३९ रनको साझेदारी गरेका थिए ।

क्यानाडाले यस खेलमा आफ्ना केहि प्रमुख खेलाडीलाई भने विश्राम दिएको छ । कप्तान नवनित धलिवाल, अष्ट्रेलियन म्याथ्यु स्पोर्स, हम्जा तारिक, कलिम सना लगायतका खेलाडी भने छैनन् ।
सन्दीपले राम्रो प्रदर्शन गरेको आरोनलाई १७ औं ओभरमा एलबीडब्लू आउट गरे । स्पिनर बसिर अहमदले २० औं ओभरको चौथो बलमा विकेटकिपर विनोद भण्डारीबाट हर्ष ठकरलाई शून्यमा क्याच गराएपछि क्यानाडा ७२–४ को अवस्थामा पुगेको थियो ।

सन्दीपले अखिल कुमारलाई एक्स्ट्रा कभरमा आदिलबाट १२ रनमा क्याच गराएका थिए । त्यसपछि दीपेन्द्रले दुई विकेट लिए । दीपेन्द्रले कप्तान साद बिन जाफरलाई ३ रनमा बोल्ड गर्दा क्यानाडा ८७–६ को अवस्थममा पुग्यो । दीपेन्द्रले ३१ औं ओभरको पाँचौं बलमा अर्मान कपुरलाई १० रनमा बोल्ड गर्दै दयनीय अवस्थमा पुर्याएका थिए ।
नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा २ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ९ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर २ विकेट लिए । बसिर अहमद, आदिल अन्सारी र करण केसीले एक एक विकेट लिए ।