काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशका युवा ब्याटर प्रतीक श्रेष्ठ आफ्नो हजुरबुबाको निधनको शोकपछि वाई वाई यू१९ राष्ट्रिय प्रतियोगिता खेलेका छन् । काठमाडौंमा जारी यू१९ राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशबाट सानदार प्रदर्शन गर्दै आएका प्रतीक कर्णालीविरुद्ध मंगलबार शोकलाई शक्तिमा बदल्दै मैदान उत्रेका छन् ।

सोमबार राती हजुरबुबा महेन्द्र श्रेष्ठको ५८ बर्षको उमेरमा निधन भएको थियो । मुटु रोगबाट ग्रसित महेन्द्रको सोमबार चितवनमा निधन भएपनि प्रतीकले मंगलबार बिहान जानकारी पाएको बागमती प्रदेशका म्यानेजर (व्यवस्थापक) सुजन महर्जनले जानकारी दिए ।
प्रतीकको हजुरबुबाको मृत्युको कारण बागमतीको टोली हातमा कालो पट्टी बाँधेर मैदान उत्रेको छ । खेल सुरु हुनुअघि प्रतीकको हजुरबुबाको मृत्युमा बागमती प्रदेशको यू१९ टोलीले मौन धारणा गरेको थियो । बिहान खबर सुनेपछि प्रतीक केहि समय भावुक हुँदै रोएका थिए । तरपछि उनले क्रिकेट खेल्ने निर्णय लिएको व्यवस्थापक महर्जनले हाम्रो खेलकुदलाई जानकारी दिए ।

‘प्रतीकलाई आज विहान सम्म थाहा भएको थियो । विहान सम्म त रुँदै थियो । टिमको हौसलापछि अन्तिम समयमा खेल्छु नै भन्यो । जे होस् साहस देखायो’, महर्जनले भने । ‘त्यसैमा थपे घरबाट पनि उसलाई साथ नै छ । आत्माविश्वासी नै भएर खेल्छु भनेको हो ।’
चितवन क्रिकेट एकेडेमीबाट क्रिकेट खेल्ने प्रतीकले गत शुक्रबार टियु क्रिकेट मैदानमा प्रदेश एकविरुद्ध १ सय ५ बलमा १० चौका र ९ छक्कासहित १ सय ४२ रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए । उक्त खेलमा एक समय १०५–६ को अवस्थाबाट सानदार प्रदर्शन गरेका थिए ।

मधेशविरुद्ध मुलपानी मैदानमा ३० र गण्डकीविरुद्ध ८ रनमा आउट भएका थिए । हजुरबुबाको मृत्युपछि कर्णालीविरुद्ध मैदान उत्रिएका प्रतीकले ९ ओभरमा ३९ रन खर्चिदा विकेट लिन सकेका छैनन् । उनी स्पिन बलिङ गर्ने गर्दछन् ।