काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश एकले वाई वाई यू-१९ राष्ट्रिय प्रतियोगितामा मधेशमाथि १० विकेटको सहज जित हात पारेको छ । लगातार तेस्रो हारसँगै मधेश प्रतियोगिताबाट बाहिरिएको छ ।

जितको लागि ७१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले १९.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । प्रदेश १ को जितमा ओपनर सोनु अन्सारी ६७ बलमा ४ चौका र १ छक्कासहित ४५ रनमा अविजित रहे । सुभन गहतराजले ५० बलमा ३ चौकासहित २४ रनमा अविजित रहे ।
त्यसअघि मुलपानी क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ थालेको मधेश ३१.३ ओभरमा ७० रनमा अल आउट भयो । मधेशका लागि ओपनर मयन यादवले ३३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १९ रन बनाए । डब्लू मलिकले २२ बलमा २ चौकासहित १२ रन बनाए । मधेशका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
प्रदेश एकका तीव्र गतिका बलर विपिन महतोले ८ ओभरमा २ मेडनसहित १४ रन खर्चेर ३ विकेट लिए । दीपेश कंडेलले ८.३ ओभरमा ३ मेडन राख्दै ६ रन खर्चेर ३ विकेट लिए । सन्देश भट्टाईले दुई, आश्विन महतो र आषिश महतोले एक एक विकेट लिए ।
मधेश सुरुवाती तीनै खेलमा पराजित भएको छ । सुदूरपश्चिम ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ । बागमती ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ । गण्डकी चार खेलमा जित विहीन हुँदै दुई खेल अगावै बाहिरिएको छ ।
प्रदेश एक भने ४ खेलमा २ मा जित र २ मा हारसहित चौथो स्थानमा छ । फाइनल खेल्न प्रदेश एकले बाँकी सबै खेलमा फराकिलो जित निकाल्नु पर्छ । सुदूर र बागमतीको नतिजामा बढी निर्भर रहनेछ ।