काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलिया शीर्षक्रमका ब्याटर मार्नस लाबुसेनले वेस्टइन्डिजविरुद्ध पहिलो टेस्ट खेलमा दोहोरो शतक प्रहार गरेका छन् । पर्थमा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली अष्ट्रेलियाले दोस्रो दिन पहिलो सेसनमा १ सय १८.१ ओभरमा ३ विकेट गुमाउँदै ४ सय २ रन बनाएको छ ।

अष्ट्रेलियाका मार्नस लाबुसेन ३ सय ५० बलमा २० चौका र १ छक्कासहित २ सय ४ रनमा क्याच आउट भए । लाबुसेनले जयडेन सिल्सलाई चौका हान्दै आफ्नो टेस्ट करिअरको दोस्रो दोहोरो शतक हानेका थिए ।
दोहोरो शतक हानेको दुई बलपछि लाबुसेन क्रेग ब्रेथवेटको बलमा विकेटकिपर जोशुवा डा सिल्भाबाट क्याच आउट भए । लाबुसेन आउटसँगै दोस्रो दिन भोजनको लागि खेल रोकिएको छ ।
लाबुसेनले १ सय ९२ बलमा १३ चौका र १ छक्कासहित शतक पूरा गरेका थिए । १ सय ५० रन लाबुसेनले २ सय ६३ बलमा पूरा गरेका थिए । दोहोरो शतक ३ सय ४८ बलमा पूरा गरे ।
स्टिभ स्मिथ १ सय ९८ बलमा ११ चौकासहित १ सय १४ रनमा क्रिजमा छन् । स्मिथको यो टेस्ट करिअरको २९ औं शतक हो । तेस्रो विकेटका लागि स्मिथ र लाबुसेनले २ सय ५१ रनको साझेदारी गरेपछि विशाल योगफल बनाएको छ ।
तीव्र गतिका बलर जयडेन सिल्सले ओपनर डेविड वार्नरलाई ५ रनमा बोल्ड गरे । दोस्रो विकेटका लागि मार्नस लाबुसेन र उस्मान खवाजाले १ सय ४२ रनको साझेदारी गदै बलियो योगफलको आधार तय पारेका थिए ।
उस्मान खवाजा १ सय ४९ बलमा ५ चौका र १ छक्कासहित ६५ रनमा क्याच आउट भए । काइल मेयर्सको बलमा खवाजा आउटसाइड लागेर विकेटकिपर जोशुवा डा सिल्भाबाट क्याच हुन पुगेका थिए । वेस्टइन्डिज र अष्ट्रेलियाबीच दुई टेस्ट खेलको सिरिज हुनेछ । दोस्रो टेस्ट डिसेम्बर ८ देखिसुरु हुनेछ ।