एजेन्सी – मार्नस लाबुसेन र स्टिभ स्मिथको सानदार दोहोरो शतकमा अष्ट्रेलियाले पहिलो टेस्ट खेलमा वेस्टइन्डिजविरुद्ध ३ सय ४४ रनको विशाल अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिँदा अष्ट्रेलिया दोस्रो इनिङमा ११ ओभरमा १ विकेट गुमाउँदै २९ रन बनाएको छ ।

पहिलो इनिङमा अष्ट्रेलिया ३ सय १५ रनले अघि भएपछि विशाल अग्रता लिएको हो । अष्ट्रेलियाका डेविड वार्नर १८ र मार्नस लाबुसेन ३ रनमा क्रिजमा छन् । ओपनर उस्मान खवाजा ५ रनमा आउट भए ।
वेस्टइन्डिज पहिलो इनिङमा २ सय ८३ रनमा अल आउट भयो । वेस्टइन्डिजका कप्तान के्रग ब्रेथवेटले १ सय ६६ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६६ रन बनाए । डेब्यू खेल खेलेका ओपनर टगेननारायण चन्द्रपाउल ७९ बलमा ७ चौका र १ छक्कासहित ५१ रनमा आउट भए ।
पहिलो विकेटका लागि चन्द्रपाउल र ब्रेथवेटले ७८ रनको साझेदारी गरेका थिए । जर्मेन ब्ल्याकवुड ३६, नक्रुमाह बोनर १६, जेसन होल्डर २७, शम्राह ब्रुक्स ३३ र रोस्टन चेशले १३ रन बनाए । अष्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्स र मिचेल स्टार्कले तीन तीन विकेट लिए । नाथन लायनले दुई, क्यामरन ग्रीन र जोश हेजलवुडले एक एक विकेट लिए ।
त्यसअघि दोस्रो दिन तेस्रो सेसनमा अष्ट्रेलियाले १५२.४ ओभरमा ४ विकेट गुमाउँदै ५ सय ९८ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो ।
अष्ट्रेलियाका स्टिभ स्मिथ ३ सय ११ बलमा १७ चौकासहित २ सय रनमा अविजित रहे । स्मिथको यो टेस्ट करिअरको चौथो दोहोरो शतक हो ।
अष्ट्रेलियाका मार्नस लाबुसेन ३ सय ५० बलमा २० चौका र १ छक्कासहित २ सय ४ रनमा क्याच आउट भए । लाबुसेनले जयडेन सिल्सलाई चौका हान्दै आफ्नो टेस्ट करिअरको दोस्रो दोहोरो शतक हानेका थिए । दोहोरो शतक हानेको दुई बलपछि लाबुसेन क्रेग ब्रेथवेटको बलमा विकेटकिपर जोशुवा डा सिल्भाबाट क्याच आउट भए ।

तेस्रो विकेटका लागि स्मिथ र लाबुसेनले २ सय ५१ रनको साझेदारी गरेपछि विशाल योगफल बनाएको छ । चौथो विकेटका लागि स्मिथ र ट्रविस हेडले १ सय ९६ रनको उत्कृष्ट साझेदारी गरेका थिए । ट्रविस हेड ९५ बलमा ११ चौकासहित ९९ रनमा बोल्ड भए । हेड व्रेथवेटको बलमा बोल्ड भएपछि शतक बनाउन एक रनले चुकेका थिए ।
पर्थमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले सुरुवातमै ओपनर डेविड वार्नरलाई पाँच रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि मार्नस लाबुसेन र उस्मान खवाजाले १ सय ४२ रनको साझेदारी गदै बलियो योगफलको आधार तय पारेका थिए ।
उस्मान खवाजा १ सय ४९ बलमा ५ चौका र १ छक्कासहित ६५ रनमा क्याच आउट भए । काइल मेयर्सको बलमा खवाजा आउटसाइड लागेर विकेटकिपर जोशुवा डा सिल्भाबाट क्याच हुन पुगे ।