काठमाडौं – विकेटकिपर प्रज्ज्वल थापाको उत्कृष्ट ब्याटिङमा लुम्बिनी प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशलाई २ सय २३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २२ रन बनायो । लुम्बिनीका प्रज्ज्वल थापाले १ सय २८ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ८५ रनको योगदान दिए ।
लुम्बिनीबाट सिनियर प्रतियोगिता खेलि सकेका प्रज्ज्वलको यो करिअरको उत्कृष्ट प्रदर्शन हो । प्रज्ज्वल स्पिनर निकेश गुप्ताको बलमा ठूलो सट खेल्ने धुनमा बोल्ड आउट भए ।
एक समय लुम्बिनी ६२-४ को कमजोर अवस्थामा थियो । पाँचौं विकेटका लागि विशाल भुषाल र प्रज्ज्वलले ३३ रनको साझेदारी गरेका थिए । भुषाल १३ रनमा रन आउट भए । छैटौं विकेटका लागि प्रज्ज्वल र निर्मल गुरुङले ३८ रनको साझेदारी गरे ।
निर्मल तीव्र गतिका बलर नितेश यादवको ३८ औं ओभरको दोस्रो बलमा १३ रनमा बोल्ड भए । त्यसअघिको पहिलो बलमा निर्मललाई बलले हेल्मेटमा लागेको थियो ।

ओपनर आकाश त्रिपाठीले ३६ बलमा ३ चौकासहित २३, देव खनाल ११, विशाल विक्रम केसी १ र सुनिल भण्डारी शून्यमा आउट भए । लगातार कमजोर प्रदर्शन गर्दै आएका देव खनाल अब्जित मण्डलको बलमा बोल्ड भएका थिए ।
लुम्बिनीलाई १० औं नम्बरका ब्याटर नर सार्कीले १४ बलमा २ चौका र २ छक्कासहित २६ रन जोड्दै राम्रो अन्त्य गरे । नरले तीव्र गतिका बलर अब्जित मण्डललाई अन्तिम ओभरको सुरुवाती दुई बलमा लगातार छक्का हानेका थिए । चौथो बलमा चौका हान्दै राम्रो योगफलमा पुर्याए ।
मधेशका निकेश गुप्ताले १० ओभरमा २ मेडन राख्दै ४२ रन खर्चेर ३ विकेट लिए । नितेश यादव र अभिषेक तिवारीले दुई दुई विकेट लिए ।
लुम्बिनी यस खेलमा विजयी हुँदा फाइनलमा पुग्नेछ । लुम्बिनी पराजित हुँदा बागमती फाइनलमा पुग्नेछ । झिनो अन्तरको हारले भने लुम्बिनी नेटरनरेटमा माथि रहँदै फाइनलमा पुग्न सक्छ । सुदूर भने अपराजित रहँदै फाइनलमा स्थान पक्का गराएको छ ।