काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर मिलन बोहराको घातक बलिङमा लुम्बिनी प्रदेशले वाईवाई यू१९ राष्ट्रिय प्रतियोगिता फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९३ रनको सामान्य लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी २९.१ ओभरमा ९२ रनमा अल आउट भयो । लुम्बिनीका आकाश त्रिपाठीले ६९ बलमा २ चौकासहित सर्वाधिक ३८ रनमा आउट भए ।
अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । लज्जास्पद ब्याटिङ गर्नेक्रममा लुम्बिनीका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमध्य चार खेलाडीले खाता खोल्न सकेनन् ।
टियु एन्डबाट आएका मिलन बोहराले पाँच विकेट लिँदै सस्तैमा रोकेका हुन् । तीव्र गतिका बलर हेमन्त धामीले ओपनर देव खनाललाई सातौं ओभरको पाँचौं बलमा ७ रनमा एलबीडब्लू आउट भए । पहिलो विकेट जादा लुम्बिनीले २७ रन बनाएको थियो । त्यसपछि लुम्बिनीले लगातार विकेट गुमायो ।

हेमन्तले प्रज्ज्वल थापालाई ५ रनमा बोल्ड भए । अकाश चन्दले मनोज मगरलाई एक रनमा बोल्ड गरे । त्यसपछि मिलन बोहराले दयनीय अवस्थामा पुर्याए ।
मिलनले विशाल विक्रम केसीलाई ७ रनमा बोल्ड गरे । मिलनले अभिषेक गौतमलाई शून्यमा बोल्ड गर्दै पाँच विकेट पूरा गरेका थिए । जारी प्रतियोगितामा मिलनको यो दोस्रो पाँच विकेट हो ।
यसअघि गण्डकीविरुद्ध उनले ६ विकेट लिएका थिए । सुदूरका मिलन बोहराले ९ ओभरमा २ मेडनसहित १५ रन खर्चेर ५ विकेट लिए । नरेन साउदले ५.१ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । हेमन्त धामीले दुई र आकाश चन्दले एक विकेट लिए ।