काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशका अलराउन्डर मिलन बोहरा वाई वाइ यू–१९ राष्ट्रिय प्रतियोगिता २०२२ को प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन् ।

सुदूरलाई अपराजित रहँदै च्याम्पियन बनाउन मिलनले प्रतियोगिताभर सानदार अलराउन्ड प्रदर्शन गरे । फाइनलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो ।
मिलनले ७ खेलमा १६ विकेट लिँदै दोस्रो स्थानमा रहे । मिलनले १ सय ७० रन बनाएका थिए । उनले प्रतियोगिताभर ३६.५ ओभरमा ८ मेडन राख्दै ७८ रन खर्चेका थिए । अर्थोडक्स स्पिनर मिलनले कर्णालीविरुद्ध ४२ रन बनाउनुको साथै तीन विकेट लिएका थिए ।
गण्डकीविरुद्ध ६ विकेट लिनुको साथै २४ रन बनाएका थिए । प्रदेश एकविरुद्ध ६४ रन बनाउँदा दुई विकेट लिएका थिए । फाइनलमा लुम्बिनीलाई ९२ रनमा अल आउट गर्न मिलनले ९ ओभरमा २ मेडन राख्दै १५ रन खर्चेर ५ विकेट लिए । मिलनले १५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रदेश एकका दीपेश कंडेलले ६ खेलमा १६ विकेट लिँदै प्रतियोगिताका उत्कृष्ट बलर चुनिए । उनले १० हजार प्राप्त गरे । प्रदेश एकले कमजोर प्रदर्शन गरेपनि दीपेशले उच्च प्रदर्शन गरेका थिए ।
प्रतियोगिता शीर्ष स्थानमा भने सुदूरपश्चिमका तीव्र गतिका बलर हेमन्त धामी रहे । धामीले ७ खेलमा ४१ ओभर बलिङ गर्दै ४.४३ को इकोनमीमा रन खर्चिदै १७ विकेटका साथ शीर्ष स्थानमा रहे । तर लिगमा दीपेश अघि हुँदा हेमन्त उत्कृष्ट बलर बन्न सकेनन् ।
बागमती प्रदेशका प्रतीक श्रेष्ठ ६ खेलमा १ शतकसहित २ सय ५१ रनका साथ शीर्ष स्थानमा रहे ।

प्रतीकले प्रदेश एकविरुद्ध टियु क्रिकेट मैदानमा १ सय ५ बलमा १० चौका र ९ छक्कासहित १ सय ४२ रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए । त्यस्तै सुदूरपश्चिमसँग ४४, लुम्बिनीसँग २७ र मधेशसँग ३० रनमा आउट भएका थिए । प्रतीकले १० हजार प्राप्त गरे ।