4 weeks ago
November 12, 2025
मुकेश सिंह थापा
पछिल्ला केही वर्षमा नेपाली क्रिकेटले विश्व क्रिकेटमा आफ्नो छुट्टै परिचय बनाउन सफल भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) मैदानमा खचाखच भरिने दर्शक, देशभर फैलिएको क्रिकेटप्रतिको उत्साह, र सन्दीप लामिछानेजस्ता अन्तर्राष्ट्रिय स्तरका खेलाडीको उदयले नेपाली क्रिकेटलाई प्रेरणादायी यात्रामा अघि बढाएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको सफलता, सरकारी बजेट विनियोजनमा उल्लेखनीय वृद्धि र त्रिवि मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डमा उन्नत गर्ने योजना सबैले नेपाली क्रिकेटमा नयाँ ऊर्जा भरिदिएका छन् ।
निजी क्षेत्रका प्रायोजकदेखि मिडियासम्म, सबैले यो खेललाई व्यावसायिक र दिगो बनाउने दिशामा अग्रसर छन्। यी प्रयासहले नेपाल क्रिकेटको वरिपरि आशा, गर्व र विश्वासको वातारण सिर्जना गरेका छन्।
तर, यो उत्थानको बीचमै, नेपालले विश्वकप लिग ‘टु’ अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) भएको त्रिकोणात्मक सिरिजमा गरेको कमजोर प्रदर्शनले गम्भीर चिन्ता पैदा गरेको छ। सिरिजमा नेपालले सबै ४ खेल गुमाउन पुग्यो।
एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता भविष्यमा जोखिममा पर्न सक्ने संकेत देखिँदैछ। समयमै सुधार नभए, नेपालले ओडिआई मान्यता मात्र होइन, विश्वकप खेल्ने सपना र टेस्ट राष्ट्र बन्ने दीर्घकालीन लक्ष्य दुवै गुमाउने खतरा छ।
८ राष्ट्र सहभागी लिग–टु मा नेपाल सातौं र युएई पुछारमा छ। शीर्ष चारमा स्थान बनाउन नसके नेपालले अब विश्वकप छनोट पुग्न प्लेअफ खेल्नुपर्नेछ । जहाँ लिग टु का तल्ला ४ टोली र च्यालेन्ज लिगका शीर्ष ४ टोली भिड्नेछन् । त्यहाँबाट शीर्ष ४ मात्र विश्वकप क्वालिफायरमा पुग्नेछन्। ओडिआई मान्यता कायम राख्न नेपालले कम्तीमा लिग ‘टु’मा छैटौं स्थानमा रहनैपर्छ। तर अहिले सातौं स्थानमा छ। जसले स्पष्ट संकटको संकेत गर्छ।

ओडिआई मान्यता गुम्नु खेल नतिजाभन्दा धेरै गहिरो आघात हुनेछ। यसले नेपाल क्रिकेटको अन्तर्राष्ट्रिय विश्वसनीयता, भविष्यका अवसर, र आर्थिक आधारमै चोट पुर्याउनेछ। राष्ट्रिय टोलीको प्रदर्शन कमजोर हुँदा घरेलु लिगको लोकप्रियता घट्ने, प्रायोजन कम हुने र आइसिसीको अनुदानमा कटौती हुने सम्भावना प्रबल छ। धेरै समर्थकका लागि पनि यो निराशाको विषय बनिसकेको छ। लिग टुको कमजोर प्रदर्शनले कतिपयमा आगामी एनपिएल सिजनप्रतिको उत्साह नै घटाएको छ।
नेपालसँग प्रतिभा र समर्थनको अभाव छैन। तर पछिल्ला ओडिआई खेलहरूले प्राविधिक मात्र होइन, मानसिक कमजोरी पनि उजागर गरेका छन्। टोलीले आक्रामक मानसिकता अपनाउन सक्दैन, साझेदारी टिकाउन असफल हुन्छ, र महत्त्वपूर्ण क्षणमा विकेट गुमाउँछ।
सट सेलेक्सन कमजोर, डेथ ओभरमा बलिङ अस्थिर, र योजनामा स्पष्टता अभाव देखिन्छ। राम्रो सुरुवातपछि पनि ब्याटरहरू ठूलो इनिङ्स बनाउन असफल भइरहेका छन् । जसले सम्भावित २ सय ७० रनलाई २ सय ३० रनमा सीमित पार्ने स्थिति दोहोर्याइरहेको छ।
कप्तानीमा अस्थिरता, ब्याटिङक्रममा निरन्तर हेरफेर र रणनीतिक गल्तीले टोलीको लय बिगारेका छन्। धेरै खेलाडी टि ट्वान्टी र ओडिआई दुवै खेल्छन्। तर छोटो फर्म्याटबाट ५० ओभरको रणनीतिक खेलमा रुपान्तरण गर्न उनीहरू संघर्षरत छन्। ओडिआई क्रिकेटमा धैर्य, योजना र मानसिक सुदृढता अनिवार्य हुन्छ । र नेपाल अहिले यही त्रिवेणीमा कमजोर देखिएको छ।

सन्देश स्पष्ट छ । प्रतिभा र जनसमर्थनले टोली निर्माण गर्छ, तर योजना, अनुशासन र मानसिक दृढताले मात्र सफलता टिकाउँछ।
नेपाल क्रिकेट संघ (क्यान) ले पछिल्ला वर्षहरूमा घरेलु लिग सञ्चालन, युवा खेलाडीलाई अवसर, र अन्तर्राष्ट्रिय खेलको विस्तारमा सार्थक काम गरेको छ। तर अहिले समयको माग फरक छ ।
यो संकटलाई टर्निङ पोइन्टमा रूपान्तरण गर्नुपर्ने छ। समयमै सुधार नहुँदा नेपालले केन्याजस्तो कथालाई दोहोर्याउन सक्छ । एक समयको गौरवशाली राष्ट्र, जुन पतनपछि कहिल्यै पुनरुत्थान हुन सकेन।
ओडिआई मान्यता नरहँदा त्यसको असर केवल खेलाडीमा सीमित हुँदैन। ओडिआई को वित्तीय सहायता घट्नेछ, प्रायोजन र लगानी घट्नेछ, र मिडियाको ध्यान पनि कम हुनेछ। समर्थक निराश हुँदै गए भने लोकप्रियतामा गिरावट अनिवार्य हुनेछ।
त्रिवि मैदानका भीडले क्रिकेटप्रतिको प्रेम देखाउँछ, तर त्यो प्रेम कायम राख्न प्रदर्शनले नै साथ दिनुपर्छ। नेपालसँग अझै समय छ । तर त्यो सीमित छ। अब खेलाडीले जिम्मेवारीपूर्वक खेल्दै, स्ट्राइक घुमाउने, फिल्डिङमा अनुशासन राख्ने, र अन्तिम ओभरमा सटीक योजना कार्यान्वयन गर्ने बेला आएको छ।
नेपाल क्रिकेटको कथा धैर्य, समर्पण र गौरवको कथा हो। तर यस कथालाई स्थायी बनाउन अब योजना, अनुशासन र निरन्तरता अपरिहार्य भइसकेको छ। क्रिकेटमा जसरी जीवनमा पनि प्रतिभाले माथि पुर्याउँछ, तर अनुशासन र योजनाले मात्र टिकाइ राख्छ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]