केप टाउन (एजेन्सी) – भारत पहिलो टेष्टमा दक्षिण अफ्रिकासँग ७२ रनले पराजित भएको छ । दोस्रो इनिङ्समा दुई सय ८ रनको लक्ष्य पछ्याएको भारत १ सय ३५ रनमै अलआउट हुन पुग्यो ।
घरेलु टोली दक्षिण अफ्रिकाका बलर भर्नोन फिलान्डरले जादुयी बलिङ गरेपछि खेल भारतबाट गुमेको हो । उनले एक्लैले दोस्रो इनिङ्समा भारतका ६ विकेट हात पारे । त्यस्तै मोर्ने मोर्कल र कागिसो राबाडाले पनि दुई-दुई विकेट लिएका थिए ।
भारतका लागि रविचन्द्रन आश्विनले सर्वाधिक ३७ रन जोडेका थिए भने कप्तान विराट कोहलीले २८ रनको योग्दान दिएका थिए । अन्य ब्याट्सम्यानहरु क्रिजमा जम्न नसक्दा २ सय ८ रनको सानो लक्ष्य पनि भारतले भेट्याउन नसकेको हो ।
यस अघि दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा २ सय ८६ रन जोडेको थियो भने हार्दिक पाण्डेयको ९३ रनको मद्दतले भारतले २ सय ९ रन बनाएको थियो । पहिलो इनिङ्समा फिलान्डरले ३ विकेट लिएका थिए ।
दोस्रो इनिङ्समा भने घरेलु टोली पनि १ सय ३० रन जोड्दै सस्तैमा समेटिएको थियो । यस जितसँग दक्षिण अफ्रिकाले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । दोस्रो टेष्ट शनिबारदेखि सुरु हुने छ ।