एजेन्सी – ओपनर जोन क्याम्पवेल र शाई होपले विश्व कीर्तिमानी साझेदारी गरेपछि वेस्ट इन्डिजले आयरल्यान्डलाई १ सय ९६ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

आयरल्यान्डको डबलिनमा टस हारेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ३ विकेटको क्षतिमा ३ सय ८१ रन बनाएको थियो । उसका लागि ओपनर शाई होप र जोन क्याम्पवलले पहिलो विकेटका लागि ३ सय ६५ रनको विश्व कीर्तिमानी साझेदारी गरे । वान डे क्रिकेटमा यो कुनै पनि ओपनरले गरेको उच्च साझेदारी हो । यसअघि इमाम उल हक र फखार जमानले सन् २०१८ मा जिम्बावेविरुद्ध ३ सय ४ रनको साझेदारी गरेका थिए ।
होपले १ सय ५२ बलमा २२ चौका र २ छक्का प्रहार गर्दै १ सय ७० रनमा क्याच आउट भए । त्यस्तै क्याम्पबेलले १ सय ३७ बलमा १५ चौका र ६ छक्का सहित १ सय ७९ रनको महत्वपूर्ण योगदान दिए । दुबै खेलाडीले मैदानमा चौका र छक्काको वर्षा गराउँदै आयरल्यान्डका बलरलाई निरही सावित देखिन्थे । यी दुईबीचको साझेदारी ४८ ओभरको दोस्रो बलमा बेरी म्याकार्थीले कप्तान विलियम पोर्टरफील्डबाट क्याम्पबेललाई क्याच गराउदै तोडेका थिए । बेरीले २ र मार्क अदिरले १ विकेट लिए ।
३ सय ८२ रनको विशाल लक्ष्य पछ्याएको आयरल्यान्डले ३४.४ ओभरमा १ सय ८५ रनमा समेटियो । उसका लागि केभिन ओ ब्राएनले ७७ बलको सामना गर्दै ७ चौका र १ छक्का सहित सर्वाधिक ६६ रनको योगदान दिए ।
त्यस्तै गैरी विल्सन ३०,एन्ड्रयू बेलबर्नी २९ र कप्तान वलियम पोर्टरफील्डले १२ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । वेस्ट इन्डिजका अशले नर्शले ४,शैनन गेब्रियल ३ र किमर रोचाले २ विकेट लिए । त्रिकोणात्मक सिरिजमा वेस्ट इन्डिज,बेंगलादेश र आयरल्यान्डले प्रतिस्पर्धा गर्ने छन् ।