default_image

3 years ago

April 27, 2021

युवा पुस्ता र ह्वाटमोरले ब्याटिङमा जगाएको नयाँ आशा

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटको इतिहास पल्टाउने हो भने अधिकांश अवसरमा नेपालको पराजयको प्रमुख कारण कमजोर ब्याटिङ नै रहँदै आएको छ । प्रशिक्षक फेरिए, खेलाडी फेरिए, नेपालको क्रिकेट खेल्ने स्तर नै परिवर्तन भयो, तर ब्याटिङको समस्याले नेपाली क्रिकेटलाई कहिल्यै छोडेन । तर यसपटक भने नेपाली टोलीको प्रदर्शनले केहि आशा पलाएको छ । शनिबार सम्पन्न नेपाल, मलेसिया […]

101 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाली क्रिकेटको इतिहास पल्टाउने हो भने अधिकांश अवसरमा नेपालको पराजयको प्रमुख कारण कमजोर ब्याटिङ नै रहँदै आएको छ । प्रशिक्षक फेरिए, खेलाडी फेरिए, नेपालको क्रिकेट खेल्ने स्तर नै परिवर्तन भयो, तर ब्याटिङको समस्याले नेपाली क्रिकेटलाई कहिल्यै छोडेन । तर यसपटक भने नेपाली टोलीको प्रदर्शनले केहि आशा पलाएको छ ।

शनिबार सम्पन्न नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टि२० आई सिरिजमा नेपालले सानदार ब्याटिङ प्रदर्शन गर्यो । नेपालले आफ्नो टि२० इतिहासकै सर्वाधिक रन देखि ठूलो अन्तर जितसम्मको कीर्तिमान बनायो । टि२० क्रिकेटमा नेपालले लगातार तेस्रो पटक २ सय माथिको योगफल बनाउँदै ब्याटिङ बलियोको राम्रो संकेत दियो ।

सुरुवाती दुई खेलमा नेपालले ९–९ विकेटको सानदार जित निकालेको थियो । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा जुन प्रर्दशन गरेको छ । त्यसले आम समर्थकमाझ नयाँ आशा र उर्जा थपेको छ । सिरिजअघि टोलीका प्रमुख सदस्य पारस खड्का घाइते हुँदा नखेल्ने भएपछि धेरैले नेपालको ब्याटिङ झन कमजोर हुने आँकलन गर्नु स्वभाविक थियो । तर त्यसलाई युवा खेलाडीले गलत सावित गरे । पारसको अभाव महसुस हुन नदिई युवा खेलाडीले सानदार प्रदर्शन गर्दै उपाधि जिताए ।

कोरोना महामारीको कारण १४ महिना पछि अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु मैदानबाट नेपालले सानदार पूनरागमन गरेको थियो । पहिलो खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ३७ रनको लक्ष्य १५ ओभरमा मात्र १ विकेटको क्षतिमा पूरा गर्यो । डेब्यू खेलमा ओपनर आसिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट अर्धशतकीय इनिङ खेलेका थिए । दोस्रो खेलमा नेपालले मलेसियामाथि ९ विकेटको सानदार जित निकालेको थियो ।

तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग २ सय ६ रन बनाए पनि विजयी भने हुन सकेन । ब्याटिङमा उच्च प्रदर्शन हुँदा त्यो हारले खेलाडीमा खासै चिन्ता र दबाब थपेन । चौथो खेलमा नेपालले मलेसियाविरुद्ध २ सय १७ रन बनायो ।

फाइनलमा नेदरल्यान्ड्सँग २ सय ३८ रन बनाएको थियो । जुन नेपालले टि२० मा बनाएको सर्वाधिक रन हो । फाइनलमा नेदरल्यान्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो । नेपालले टि२० आईमा जितेको सर्वाधिक ठूलो रन अन्तर हो । एकपछि अर्को खेलमा ब्याटिङमा सुधार गर्दै नेपालले उत्कृष्ट प्रदर्शन गर्यो ।

लामो समयदेखि ओपनिङ नेपालको सबैभन्दा अस्थिर र कठिन भूमिका मानिँदै आएको छ । पछिल्लो समय त हरेक प्रतियोगितामा नेपालले ओपनिङ जोडी परिवर्तन गर्दै आएको थियो । तर यस पटक कुशल र आसिफले उत्कृष्ट प्रदर्शन गरे । सुरुवाती दुई खेलमा आसिफ र कुशलले लगातार शतकीय साझेदारी गर्दै विश्व कीर्तिमान बनाउँदै स्थायी जोडीको ठूलो सम्भावना देखाएका छन् ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग कुशलले ६२ र आसिफले ५४ रन बनाए । जसक्रममा आसिफ र कुशलले पहिलो विकेटका लागि १ सय १६ रनको शतकीय साझेदारी गरे । जुन नेपालका ओपनरले टि२० आईमा गरेको सर्वाधिक ठूलो साझेदारी हो । दोस्रो खेलमा मलेसियाविरुद्ध कुशल ६१ र आसिफ ४२ रनमा आउट भएका थिए ।

दोस्रो खेलमा १ सय २ रनको शतकीय साझेदारी गर्दै आसिफ र कुशल सुरुवाती दुई खेलमा दुई शतकीय साझेदारी गर्ने पहिलो जोडी बन्न पुगे । अर्कोतर्फ दुवै जनाको डेब्यू खेलमा शतकीय साझेदारी गर्ने आसिफ र कुशल विश्वकै पहिलो जोडि समेत हुन् । लगातार शतकीय साझेदारी गर्नु कुनै सामान्य कुरा होईन । त्यो विपक्षी कमजोर होस् वा बलियो ।

कुशलले नेदरल्यान्ड्ससँग तेस्रो खेलमा ६२ रन बनाउँदै विश्व कीर्तिमान बनाए । कुशल सुरुवाती तीन खेलमा लगातार अर्धशतक प्रहार गर्ने टि२० आईमा पहिलो खेलाडी समेत हुन् । कुशलले फाइनलमा ७७ रन बनाए । फाइनलमा कुशल मल्लले २४ बलमा ५० र दीपेन्द्रले १८ बलमा ४८ रनको उत्कृष्ट इनिङ खेलेका थिए । त्यसअघि नेपाल नेदरल्यान्ड्ससँग पराजित भएपनि दीपेन्द्रले ६० रनको अर्धशतकीय इनिङ खेल्दै विशाल योगफलमा पुर्याएका थिए ।

कुशल समग्रमा ५ खेलमा २ सय ७८ रन बनाउँदै ‘प्लेयर अफ द सिरिज’ चुनिए । नेपालबाट एकै सिरिजमा एक ब्याट्सम्यानले बनाएको सर्वाधिक थियो । नेपालले यस सिरिजमा ५ खेलमा कुल ९ सय ८ रन बनायो । चार खेलाडीले अर्धशतक बनाए । कुशलले ४, दीपेन्द्र, आसिफ र कुशल मल्लले १–१ अर्धशतक प्रहार गरे । नेपालले कुल ६१ छक्का र ६० चौका प्रहार गरे ।

नेपाली क्रिकेट अब युवा पुस्तामा हस्तान्तरण भइसकेको छ । यस सिरिजमा ज्ञानेन्द्र र विनोद भण्डारी बाहेक अन्य सबै युवा खेलाडी थिए । जुन युवा जोश टियुमा देखिएको थियो । पावरप्लेको राम्रो सदुपयोग गरेको थियो । डट बलको समस्यामा धेरै कमी आएको थियो । ओपनिङ मात्र होईन दीपेन्द्र र कुशल मल्लले मध्यक्रम र तल्लोक्रमका राम्रो प्रदर्शन गरे ।

नेपाली ब्याट्सम्यानले कमजोर बललाई बाउन्ड्रीमा राम्रोसँग बदलेका थिए । जोखिम उठाए । यसअघि विकेट गएपछि रन जोड्न समस्या पर्ने नेपाललाई यस पटक त्यो समस्या देखिएन । युवा खेलाडीको प्रदर्शन अब्बल रह्यो । कुशल भुर्तेल, आसिफ, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लको प्रदर्शन राम्रो रह्यो । एक खेलाडीमा निर्भर रहेन । अन्त्य पनि राम्रो गरेको थियो । सट छनोट पनि गज्जव र खतरा मुक्त थिए ।

ब्याटिङ सुधार संकेतको पछि थुप्रै कारण छन् । ती मध्य पहिला प्रशिक्षक डेभ ह्वाटमोरको प्रभाव झल्किन्छ । अष्ट्रेलियन प्रशिक्षक डेभ गत माघमा नेपाल आएका थिए । उनले दुई महिनामा खेलाडीको खेल्ने शैलीमा केहि सुधार ल्याएको देखिन्छ । यस सिरिजमा नेपालले खेल्ने शैलीमा परिवर्तन गर्दै आक्रामक रुपमा प्रस्तुत भएको थियो । जुन सफल प्रशिक्षकको राम्रो संकेत हो ।

खेलाडीमा प्रभाव छाड्न र परिवर्तन ल्याउन सफल र उत्कृष्ट क्षमता भएका प्रशिक्षक धेरै समय लगाउँदैनन् । सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका कुशल भुर्तेल देखि आसिफ शेख सम्मका खेलाडीले ब्याटिङ सुधारको श्रेय ह्वाटमोरलाईनै दिएका छन् ।

सन् १९९६ मा श्रीलंकालाई प्रशिक्षकको रुपमा विश्वकप उपाधि जिताएका ह्वाटमोर एक सफल प्रशिक्षक हुन् । ह्वाटमोरले आफ्नो पहिलो अन्तर्राष्ट्रिय सिरिजमा सानदार सुरुवात पनि गरेका छन् । यसले आगमी दिनमा सकरात्मक उर्जा थपेको छ । मैदानमा खेलाडीले खेलअघि र खेल पछि देखाउने हाउभाउ पनि फरक देखिन्छ ।

अर्कोतर्फ ब्याटिङमा परिवर्तन आउनुमा खेलाडीको राम्रो तयारी र मिहिनेत पनि त्यतिनै छ । कोरोना कारण लकडाउन भएपनि खेलाडीले राम्रो अभ्यास गरेका थिए । नेपालले माघमा प्रधानमन्त्री कप र फागुनमा काठमाडौं मेयर कप खेल्दै राम्रो तयारी गरेका थिए । दुई प्रतियोगिताले खेलाडीको प्रदर्शनमा निखारता आएको थियो ।

मैदान र पिचबारे राम्रोसँग जानकार हुँदा खेल्न सहज बनेको थियो । अर्कोतर्फ नेदरल्यान्ड्सले आफ्नो पहिलो रोजाईका केहि खेलाडी नेपाल भ्रमणमा थिएनन् । जसले गर्दा बलिङ नेदरल्यान्ड्सको कमजोर देखिएको थियो । नेपालले समर्थकको पनि राम्रो फाइदा उठायो ।

ब्याटिङ सुधारको देखिनुमा अर्को कारण पिच ब्याटिङ सहयोगी हुनु हो । लकडाउनको समयमा राम्रो विश्राम पाएको टियु पिच ब्याटिङका लागि निकै राम्रो बनेको छ । पछिल्ला घरेलु क्रिकेटमा पनि ब्याट्सम्यानले खुलेर रन बनाउँदै आएका छन् । नेपालबाहेक टोलीका कप्तानले पनि पिचको प्रशंसा गरेका थिए ।

गत फागुनमा काठमाडौं मेयर कप लिगको नवौं खेलमा बागमती प्रदेश र आर्मीबीचको खेलमा दुई शतक बनेको थियो । उक्त खेलमा कुल ५ सय २२ रन बनेको थियो । पारस खड्काले १ सय १९ रनको शतकीय इनिङ खेलेपछि बागमती ४९.४ ओभरमा २ सय ६६ रनमा अल आउट भएको थियो । २ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको आर्मी ४७.१ ओभरमा २ सय ५६ रनमा अल आउट भएको थियो ।

एक समय ७९–४ को कमजोर अवस्थाबाट कप्तान विनोद भण्डारीले १ सय १९ रनको उत्कृष्ट शतकीय इनिङ खेल्दै कडा प्रतिस्पर्धा दिएका थिए । नेपाली घरेलु क्रिकेटमा एकै खेलको दुवै इनिङमा शतक बनेको सायद यो पहिलो अवसर थियो ।

पुलिसले प्रस्तुत गरेको २ सय ५९ रनको लक्ष्य एपिएफले २ बल अगाडि ९ विकेटको क्षतिमा पूरा गर्यो । जुन घरेलु क्रिकेटको एक उत्कृष्ट सफलतापूर्वक पूरा गरेको ठूलो लक्ष्यमा पर्छ । उक्त खेलमा एपिएफका सुबास खकुरेल, सन्दीप जोरा, सुमित महर्जन र आसिफ शेखले राम्रो प्रर्दशन गरे । दीपेन्द्रसिंह ऐरीको १ सय ४० रनको शतकीय इनिङ खेर गएको थियो ।

नेदरल्यान्ड्सले नेपालले प्रस्तुत गरेको २ सय ७ रनको विशाल लक्ष्य तीन बल अगाडिनै ७ विकेटको क्षतिमा पूरा गरेको थियो । यसले पनि टियु पिचमा ब्याटिङ गर्न कतिको सहज बुझ्न सकिन्छ । बलिङमा नेपालबाट सन्दीप लामिछानेले सर्वाधिक १३ विकेट लिए । करण केसी ७, सोमपाल कामी र कमलसिंह ऐरीले ५–५ विकेट लिए । स्पिनर साहब आलम, तीव्र गतिका बलर अभिनाश बोहराले २–२ विकेट लिए । विशेष गरेर नेदरल्यान्ड्सविरुद्ध २ सय ६ रन बचाउन नसक्दा बलिङमा केहि प्रश्न उठेको थियो ।

त्रिकोणात्मक सिरिजको प्रदर्शनमा नेपालको ब्याटिङ समस्या अन्त्य भन्न भने मिल्दैन । सुधारको राम्रो संकेत देखाएको छ । कतिपयले कमजोर टोलीविरुद्ध पनि भनेका छन् । तर नेपालले यसभन्दा अघि धेरै कमजोर टोलीसँग संघर्ष गरेका उदाहरण थुप्रै छन् । नेपालले आफू भन्दा बलिया टोलीसँग घरेलु र विदेशी दुबै मैदानमा खेल खेल्नुपर्छ ।

एउटा प्रतियोगिता प्रदर्शनको भरमा सुधार र खस्किको मान्न सकिदैन । आगमी एक वर्षमा नेपालको नतिजा कस्तो रहन्छ त्यसले सुधार हो वा होइन प्रष्टाउने छ । कोरोना महामारीले अन्तर्राष्ट्रिय खेलमा वाधा पुर्याउन सक्छ । यस त्रिकोणात्मक सिरिज आगमी वर्ष अष्ट्रेलियामा हुने टि२० विश्वकपको लागि ग्लोबल छनोट तयारीको सुरुवात हो ।

यस प्रदर्शनले नेपाली ब्याटिङमा नयाँ उत्साह र आशा थपेको छ । युवा खेलाडी आउने दिनमा थप निखारिंदै जानेछन् । जसले आगमी दिनमा नेपाली क्रिकेटलाई माथि पुर्याउन सहयोग हुनेछ ।

March 28, 2024

सिइसी र धनगढी विजयी

सुमन अधिकारी,बुटवल नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् । जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर […]

March 28, 2024

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […]

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

Success

Thank you for your time.