default_image

2 years ago

November 3, 2021

ट्यालेन्ट हन्टमै निर्भर घरेलु क्रिकेट

भुपेन्द्र जिसी, काठमाडौं नेपाल ओडिआई मान्यता प्राप्त देश हो । तर नेपाली क्रिकेट टोलीको घरेलु संरचना, ग्रासरुट्स र प्रतियोगिताहरु त्यस स्तरलाई न्याय दिने खालको छैन । त्यसैले विश्व क्रिकेटमा नेपालले जुन गतिमा फड्को मार्नुपर्ने त्यो सकेको छैन । आजपनि क्रिकेट विकासभन्दा झारा टार्ने र बजेट मिलाउन गरिने कामहरु बढी हुन्छन् । त्यसको सबैभन्दा ठूलो मार ग्रासरुट्समा […]

66 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाल ओडिआई मान्यता प्राप्त देश हो । तर नेपाली क्रिकेट टोलीको घरेलु संरचना, ग्रासरुट्स र प्रतियोगिताहरु त्यस स्तरलाई न्याय दिने खालको छैन । त्यसैले विश्व क्रिकेटमा नेपालले जुन गतिमा फड्को मार्नुपर्ने त्यो सकेको छैन । आजपनि क्रिकेट विकासभन्दा झारा टार्ने र बजेट मिलाउन गरिने कामहरु बढी हुन्छन् । त्यसको सबैभन्दा ठूलो मार ग्रासरुट्समा परेको छ ।

यू१९ क्रिकेट कुनैपनि देशको भविष्य, बेन्च स्ट्रेन्थ तयार र खेलाडी पहिचानको सबैभन्दा राम्रो अवसर हो । नेपाली क्रिकेटको इतिहास हेर्ने हो भनेपनि यू१९ टोलीको प्रदर्शनले सिनियर टोलीको बाटो बुनेको प्रसस्त उदाहरण छ । सन् २००० देखि २०१६ सम्म ७ पटक यू१९ विश्वकप खेलेको नेपालले न्युजिल्यान्डलाई हराउँदै प्लेट च्याम्पियन बनेका सुनौला इतिहास पनि छ ।

नेपाली यू१९ टोलीले भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान जस्ता विश्व क्रिकेटका ठूला टोलीलाई घुँटा टेकाई सकेको छ । तर नेपालले पछिल्ला तीन यू१९ विश्वकप अवसर लगातार गुमाएको छ । त्यसको मुख्य कारण कमजोर घरेलु संरचना र प्रतियोगिता नहुनु हो । २०१६ मा क्यान आइसिसीको निलम्बनमा पर्यो । त्यसले सबैभन्दा ठूलो असर उमेर समूहमा पर्यो । राष्ट्रिय प्रतियोगिता हुन नसक्दा एकेडेमी र ट्यालेन्ट हन्टमा धेरै निर्भर रहनु पर्यो ।

क्यानले मंसिर पहिलो सातादेखि काठमाडौंमा वाई वाई यू१९ राष्ट्रिय प्रतियोगिता गर्ने तयारीमा छ । यू१९ विकासको लागि गत चैतमा वार्षिक ७० लाख पाउने गरि चौधरी ग्रुपसँग क्यानले पाँच वर्षको लागि सम्झौता गरेको थियो । क्यान आएपछि स्थानिय तहदेखि नै खेलाडी छनोट कार्यक्रम हुने अपेक्षा गरिएको थियो । कम्तिमा पनि विद्यालय, क्लब, जिल्ला तथा प्रदेश हुँदै खेलाडीले अवसर पाउने सोच थियो । किनभने त्यसरी छनोट गर्दा धेरै भन्दा धेरै प्रतिभा समेटिने सम्भावना हुन्छ । तर त्यसो हुन सकेन ।

क्यानले गत बिहीबार सबै जिल्लाहरुलाई कात्तिक १९ गते भित्र जिल्ला र कात्तिक ३० गते भित्र प्रादेशिक टोली तयार पार्न निर्देशन दिएको छ । क्यानको आदेश अनुसारनै सबै जिल्ला टोली निर्माणको लागि ट्यालेन्ट हन्ट गरेका छन् ।

ट्यालेन्ट हन्ट खेलाडीको पहिचानको सहि आधार होईन । खेलाडी छनोटको अन्तिम विकल्प हो । ट्यालेन्ट हन्टमा खेलाडी एक वा दुई ओभरको बलिङ अनि ब्याटिङ हेरेर छनोट गरिन्छ । एक वा दुई ओभर खेलेर सबै खेलाडीले आफ्नो क्षमता देखाउन सक्छन् भन्ने हुँदैन । एक ओभर त खेलाडीलाई विपक्षी बलर र पिचको अवस्था बुझ्न लाग्छ । नेट, म्याट र पिचमा खेल्नुमा आफैंमा फरक छ ।

टेस्ट मुलुकमा उमेर समूहमा डे क्रिकेट अनिवार्य हुन्छ । यू१३ देखिनै क्लबमा खेलाडीलाई निरन्तर प्रतियोगिताको साथ निखारिदै लैजान्छन् । खेलाडीको असली पहिचान पनि डे क्रिकेटमै हुन्छ । डे क्रिकेट नेपालमा विरलै भएका छन् । तर नेपालमा ५० ओभरको खेलको लागि ५ लागि ५ ओभर पनि खेल्न नपाई छनोट हुँदै आएको छ । यसले वर्तमान मात्र होईन भविष्यमा पनि असर गर्छ । सिनियर टोलीमा ओडिआईको लागि संघर्ष गुर्नको कारण यो पनि एक हो । किनभने त्यसको लागि खेलाडी कहिल्यै तयार हुन पाउँदैनन् ।

यू१९ को मुख्य उदेश्यनै नयाँ प्रतिभा पहिचना गर्नु हो । त्यसको लागि ट्यालेन्ट हन्ट होईन प्रतियोगिता हुनुपर्छ । एक बल होईन सय बल खेल्ने वातावरण बनाउनुपर्छ । कम्तिमा एक ओभर होईन दश ओभर बलिङ गर्ने अवसर दिनुपर्छ । अनि मात्र खेलाडीको स्तर भन्न सकिन्छ । दुई ओभरको अवसर दिएर उसको खेलाडी छनोट गर्नु भविष्यमाथि खेलवाड गर्नुहो ।

गाउँका कुना काप्चा देखि खेतको बगरमा खेल्ने प्रतिभाले यस्ता प्रतियोगितामा मौका पाउनुपर्छ । जो राम्रो क्षमता भएर पनि एकेडेमीको पहुँचमा पुगेका हुँदैनन्, त्यस्ता प्रतिभाले पनि आफ्नो खेल देखाउने प्ल्याटफर्म हुनुपर्छ । एकेडेमीमा खेल्नेले त क्यान नहुँदा पनि आएका नै थिए । अरु केहि गर्न नसकेपनि जिल्लामा प्रतिभा बोकेका खेलाडीले कम्तिमा ३-४ खेल खेल्न पाउने गरि प्रतियोगिताका साथ छनोट गर्नुपर्ने थियो । तर ट्यालेन्ट हन्टमार्फत धमाधम खेलाडी छनोट गर्दै टिम निर्माण भएको छ ।

ट्यालेन्ट हन्टबाट २०–३० खेलाडी राखेर जिल्ला टिम निर्माण गर्नु भनेको तत्कालको लागि झारा टार्ने काम मात्र होईन युवा खेलाडीको भविष्यमाथि खेलवाड हो । त्यसैपनि नेपाली खेलाडीले पर्याप्त घरेलु प्रतियोगिता पाउँदैनन् । एक दुई प्रातियोगिता र दुई चार खेलले खेलाडी माथि आउन निकै कठिन पर्छ । अवस्था कस्तो छ भने एउटा खेलमा गरेको गल्ती अर्को खेलमा सुधार गर्न नपाउँदै प्रतियोगिता सकिन्छ । एउटा वा दुई वटा खेलमा खराब प्रदर्शन गरेमा करिअरनै धरापमा पर्न सक्छ ।

स्कुल, यू१३, यू१६ र क्लब क्रिकेट लोप हुने अवस्थामा छन् । त्यसैले नेपाली घरेलु क्रिकेटमा ठूलो परिवर्तन तथा लगानीको आवश्यक छ । अब पनि गर्न सकिएन भने नेपाल विश्व क्रिकेटमा धेरै पछि पर्ने निश्चित छ । विशेषगरि क्लब क्रिकेट र स्कुल क्रिकेट अतिनै आवश्यक बनिसकेका छन् ।

क्यान २०७३ वैशाख १३ मा आइसिसीको प्रतिबन्धमा नेपालले ट्यालेन्ट हन्ट मार्फत खेलाडी छनोट गर्दै बन्द प्रशिक्षण राखेको थियो । दुई वर्षअघि नयाँ नेतृत्व आएसँगै निलम्बन फुकुवा भयो । क्यान नहुँदा पनि ट्यालेन्ट हन्टनै हुन्थ्यो । त्यो समय स्वभाविक थियो । तर अहिले ठूलो बजेटको प्रायोजक पाउँदा पनि छनोट त्यहि शैलीमा हुनु आफैंमा दुखद हो । क्यान हुनुमा र नहुनुमा खासै अन्तर रहेन । क्यान गाउँ गाउँ जान सक्नु पथ्र्यो । तर फेरि पनि प्रमुख सहरमै बढी केन्द्रित रह्यो ।

देशको राजधानी काठमाडौंमै दुई दिनको ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गरिएको छ । काठमाडौंमै ट्यालेन्ट हन्ट किन भन्ने प्रश्नमा काठमाडौं जिल्ला क्रिकेट संघका सचिव अरुण सत्याल क्यानले प्रतियोगिता गराउने समय नदिँदा बाध्यताल गर्नु परेको बताउँछन् । ‘क्यानले हामीलाई ११ गते चिठ्ठी दिएर १७ गतेलाई टिम मागेको छ । त्यसैले प्रतियोगिता गर्न असम्भव छ । हामीले मात्र होईन कसैले पनि प्रतियोगिता गर्न सकेनन्, ‘सत्यालले हाम्रो खेलकुदसँग भने ।

‘प्रतियोगिता भएको भए खेलाडीहरु धेरै हुन्थे । यसले हामीलाई पनि असर पर्छ । किनभने ट्यालेन्ट हन्टमा ६०–७० आउने हुन् । हामीसँग १० एकेडेमी र ८ क्लब छन् । प्रतियोगिता गराउन पाएको भए ती टिमहरुले प्रतिस्पर्धा गर्थे । तर प्रतियोगिता गर्न समयनै भएन’, उनले भने ।

दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले पनि प्रतियोगिता भए जस्तो ट्यालेन्ट हन्ट नहुने स्वीकार गर्दछन् । ‘ट्यालेन्ट हन्टबाट खेलाडी कस्तो छ त्यो चिन्न सकिन्छ । तर कुनैपनि विपक्षी टोलीसँग खेल्दा वा लक्ष्य पछ्याउँदा छुट्टै किसिमको दबाब हुन्छ । त्यो दबाबलाई खेलाडीले कसरी लिन्छ त्यो हेर्न त खेलनै चाहिन्छ’, मजगैयाले भने ।

अर्कोतर्फ नेपाली खेलकुद र क्रिकेट राजनीतिबाट अछुतो छैनन् । जिल्ला र प्रदेश छनोटमा राजनीति अझ बढी हाबी हुँदै आएको छ । प्रतियोगिता भएन भने ‘राम्रो भन्दा हाम्रो’ पन अझ मौलाउन सक्छ । प्रतियोगिता भएमा त्यो कम हुनसक्छ । किनभने प्रदर्शननै हुँदैन भने यस्ता दबाबका भरमा आउने खेलाडी राख्ने आधार हुँदैन ।

गतवर्ष प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश १ मा कमल खत्री, प्रदेश–२ मा तीव्र गतिका बलर गुलशन झा, बागमतीका प्रतिश जि.सी, लुम्बिनी प्रदेशमा दुर्गेश गुप्ता र कमल वली प्रतिभा भएपनि टोलीमा नपर्नुको उदाहरण हुन् । यी खेलाडीले फ्रेन्चाइज लिग र अन्य प्रतियोगितामा भने आफ्नो प्रतिभा देखाएका छन् ।

नेपाली टोलीको स्तर फेरिए पनि काम गर्ने शैली पुरानै छ । पूर्व कप्तान तथा यू१९ प्रशिक्षक विनोद दास क्यानको क्रिकेट म्यानेजर (व्यवस्थापक) को रुपमा छन् । गत पुषमा उक्त पद सम्हालेका दासले एक वर्षको अवधिमा अपेक्षा अनुसार काम गर्न सकेका छैनन् । यू१९ को महत्त्व र जिल्ला छनोट दासलाई जति सायद क्यानमा अरुलाई नहोला । चार वर्ष यू१९ प्रशिक्षक र एक दशक भन्दा बढी खेलाडी जीवन बिताएका विनोद दासनै क्यानको प्रमुख पदमा रहँदा ट्यालेन्ट हन्ट हुनु भने आफैंमा दुखद हो । क्यान नहुँदा दासले सन् २०१६ मा यू१९ प्रशिक्षकको रुपमा ट्यालेन्ट हन्टबाटै खेलाडी छनोट गरेका थिए ।

दास पहिला भएको ट्यालेन्ट हन्टलाई अहिले तुलना गर्न नमिल्ने जवाफ दिन्छन् । तत्कालको लागि यहि नै सहि विकल्प भएको दासको तर्क छ । ‘पहिला राष्ट्रिय स्तरमा ट्यालेन्ट हन्ट भएको थियो । त्यो समय पर्याप्त खर्च पनि थिएन । क्यान आइसिसीको निलम्बनमा थियो । ट्यालेन्ट हन्ट भनेर पूरानोसँग अहिलेकोलाई तुलना गर्न मिल्दैन,’ उनले भने, ‘हामीले गर्ने समयम तीन दिनमा १ हजार बढी छनोटको लागि आएका थिए । त्यसैले कसैलाई ८ बल त कसैलाई ६ बल गराएका थियौं । त्यो केन्द्रमा भएको थियो । तर अहिले हरेक जिल्लामा भएका छन् । पहिला भन्दा धेरै खेल्ने अवसर पाई रहेका छन् ।’

‘जिल्लामा अहिले क्लब संरचना छैन । क्लब खेलाडी राख्न सक्ने अवस्थामा पनि छैनन् । हामीले जसरी हुन्छ धेरै भन्दा धेरै बच्चाहरु सहभगीता र उपलब्ध उत्कृष्ट विकल्प प्रयोग गरी छनोट गर्न भनेका थियौं, दासले भने, ‘पक्कैपनि खेलाडी छनोट गर्ने यो सहि तरिका होईन । तर अहिलेको समयमा हामीसँग यो भन्दा अन्य राम्रो विकल्प पनि छैन । जसरी भएपनि अत्याधिक बच्चाहरुलाई मौका दिन खोजेका छौं ।’

‘हामीले मात्र होईन । विश्वकै उमेर समूह ट्यालेन्ट हन्टबाट हेरिन्छ । किनभने बच्चाहरु प्रतिस्पर्धात्मक खेल खेल्न तयार हुँदैनन्,’ उनले थपे ।

क्लब संरचना नभएपनि क्यानले स्थानियतह विद्यालय र कलेजसँग सहकार्य गरेर छनोट गर्न सक्थ्यो । अहिले त्यो संरचना नभएको दास बताउँछन् । त्यो संरचना हुन नसक्नु पनि क्यानकै कमजोरी हो । क्यानले हालसम्म वार्षिक क्यालेन्डर सार्वजनिक गर्न सकेको छैन । कुन प्रतियोगिता कहिले हुन्छ स्वयंम क्यान पनि भन्न सक्दैन ।

जिल्ला छनोटको लागि एक हप्ता समयको विषयमा आफूहरुले पनि कम समय पाएको दास बताउँछन् । ‘ हामीले एसिया कप तयारीको लागि जम्मा ४० दिनको समय पाएका हौं । पहिला यो वर्ष यू१९ कुनै प्रतियोगिता हुँदैन भनिएको थियो । यू१९ राष्ट्रिय प्रतियोगिता डिसेम्बर अन्तिममा गर्ने भनेका थियौं । अक्टोबर अन्तिम देखि जिल्लाको छनोट सुरु गर्ने योजनामा थियौं । नोभेम्बरको बीचमा प्रदेशको गर्ने तयारी थियो । तर अचानक अक्टोबर २७ मा डिसेम्बर तेस्रो साता देखि एसिया कप हुने सुनेपछि हामीले सबै तयारी त गर्नुपर्यो । त्यसले गर्दा समय कम भएको हो’, उनले भने ।

क्यानले उमेर समूह गत वर्ष नै गरि सक्नुपर्ने थियो । तर सकेन । कोरोना बाहना बनाएर बस्यो । अर्को वर्ष हुने यू१९ विश्वकपको लागि एसिया छनोट नहुने भएपछि नेपालले खेल्न नपाउने भइसकेको छ । यो अवस्थामा क्यानले उमेर समूह क्रिकेटरलाई अझ बढी ब्यस्त राख्न विशेष प्याकेज ल्याउन आवश्यक देखिन्छ । तर कसैको ध्यान छैन ।

अर्कोतर्फ ट्यालेन्ट हन्ट गर्नुमा क्यानको मात्र दोष छैन । जिल्ला संघको पनि त्यतिनै गल्ती छ । गलतलाई गलत भन्न नसक्नु नेपाली क्रिकेटको परम्परा समस्या जरो हो । क्यानका जिल्लासँग क्लब क्रिकेट नहोला । तर चाहने हो भने स्कुल, कलेज र स्थानिय तहबाट राम्रो सहकार्य गर्नसक्छ । खेलाडी सबैभन्दा बढी पाइने पनि यहिँ नै हो । क्यानले जिल्ला प्रतियोगिता गराउन नसक्नुमा उसको कमजोर आर्थिक अवस्था पनि हो । क्यान पदाधिकारी र कर्माचारीले निजी क्षेत्रबाट ठूला लगानी भित्र्याउन सकेका छैनन् ।

सबै गतिविधिका लागि आइसिसीको अनुदानमा निर्भर रहँदा समस्यामा रहँदै आएको छ । अर्कोतर्फ क्रिकेट विकासको लागि स्पष्ट भिजन र निस्वार्थ स्वभाव नहुनु पनि हो । घर बलियो हुन पहिला जग राम्रो हुन्छ । सिनियर टोली राम्रो हुन ग्रासरुट्स र क्लब क्रिकेट उत्कृष्ट हुनुपर्छ । यू१९ बाट राम्रो प्रतिभाहरु पहिचान गर्ने र नेपाली क्रिकेट विकास गर्ने हो भने स्थानिय टोल देखिनै प्रतियोगिता हुनुपर्छ । बजेट सक्न र देखाउनकै लागि हो भने ट्यालेन्ट हन्ट ठिक छ । केहि नयाँ खेलाडी आउँछन् पनि । तर नेपालले खोजेको, चाहँको र आउनुपर्ने सबै भने पक्कै आउँदैनन् ।

जिल्ला जिल्लामा प्रतियोगिता गर्दा त्यहाँ क्रिकेटको क्रेज अझ बढ्दै जान्छ । अर्कोतर्फ यू१९ विश्वकप र यू१९ एसिया कप होस् वा नहोस् । तर नेपालमा राष्ट्रिय प्रतियोगिता हरेक वर्ष भइरहनु पर्छ । अरु देशले कसरी गरेको छ भन्दा पनि आफूले कसरी राम्रो गर्दै विश्व क्रिकेटमा फड्को मार्न सकिन्छ त्यसमा बढी ध्यान दिन आवश्यक देखिन्छ । अहिलेको अवस्थामा पनि ट्यालेन्ट हन्ट मार्फत खेलाडी छनोट गर्नु भनेको नेपाली क्रिकेटको भविष्य माथि खेलवाड गर्नु सरह नै हो ।

April 24, 2024

कोशी हराए पनि गण्डकी पनि बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा पुछारमा रहेको कोशी प्रदेशलाई बुधबार ४ विकेटले पराजित गरेको छ । गण्डकीको यो दोस्रो जित हो । जितका बाबजुद गण्डकी लिग चरणबाटै बाहिरिसकेको छ । लगातारको पाँचौ हार बेहोरेको कोशीले अंकको खाता खोल्न सकेको छैन । कर्णाली पनि लिग चरणबाटै बाहिरिएको छ । […]

April 23, 2024

स्टोइन्सको शतकमा चेन्नईमाथि लखनउको जित

एजेन्सी – मार्कुस स्टोइन्सको सानदार शतकसहित लखनउ सुपर जाइन्ट्ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदै २ सय १३ जोडेर जित निकालेको हो । स्टोइन्सले ६३ बल खेल्दै १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १ सय […]

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

Success

Thank you for your time.