एजेन्सी – फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का नव नियुक्त प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले टोलीमा ब्राजिली स्टार फरवार्ड नेयमार आवश्यक हुने प्रतिक्रिया दिएका छन् ।

प्रशिक्षकमा नियुक्त भएकै दिन गाल्टिएरले नेयमार क्लबमै बसेको हेर्न चाहेको बताएका छन् । प्रशिक्षक गाल्टिएरले नेयमारलाई लिएर आफुसँग स्पष्ट योजना रहेको र नेयमारबाट उत्कृष्ट प्रर्दशन निकाल्न आफुसँग स्पष्ट सोच रहेको दाबी गरेका छन् ।
‘उनी विश्वस्तरीय खेलाडी हुन् । उनलाई कुन प्रशिक्षकले चाहदैनन् र ? हामीले टिममा सन्तुलन खोज्नुपर्छ ।’ गाल्टिएरले भने, ‘मसँग प्रष्ट विचार छ, नेयमार मसँग बसेको हेर्न चाहन्छु ।’
विश्व फुटबलका सबैभन्दा महँगा फुटबलर नेयमार यसै समरमा सरुवा हुने चर्चा छ । उनको क्लबमै बस्ने चाहना भएपनि पिएसजीले मोटो पारिश्रमिकका कारण बेच्न खोजिरहेको छ । गाल्टिएरको भनाईसँगै नेयमारले पेरिसमा नयाँ अध्यायको सुरुवात गर्ने सम्भावना पनि बढेर गएको छ ।
फ्रान्सेली क्लब लिलका पूर्व प्रशिक्षक गाल्टिएर मंगलबारमात्र पिएसजीले मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । अर्जेन्टिनी मौरिसियो पोचिटिनोलाई बर्खास्त गरेलगत्तै पिएसजीले गाल्टिएरलाई नयाँ प्रशिक्षकको रुपमा सार्वजनीक गरेको हो । पोचिटिनोले पीएसजीलाई च्याम्पियन्स लिगमा सफलता दिलाउन नसकेपििछ उनी १८ महिनामै बर्खास्तीमा परेका हुन् ।
पिएसजीले राम्रो प्रस्ताव आएको अवस्थामा नेयमारलाई बेच्न तयार रहेको समाचार सार्वजनिक भएको थियो । विश्व कीर्तिमानी मुल्य २२२ मिलियन युरोमा २०१७ मा पिएसजी पुगेका नेयमारले क्लबमा सोचेअनुरुपको प्रदर्शन गर्न सकेका छैनन् । नेयमार प्रिमियर लिग क्लब चेल्सी, म्यानचेस्टर युनाइटेड र न्यु क्यासल युनाईटेडसँग जोडिएका थिए ।