काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले अर्को साता अफ्रिकी राष्ट्र मौरिससविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्दैछ । दशरथ रंगशालामा हुने खेलका लागि नेपाली टोली मंगलबारदेखि एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रशिक्षणरत छ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ३७ खेलाडी प्रारम्भिक छनोटमा समावेश गरेपनि तीन खेलाडी छनोटबाट बाहिरिसकेका छन् । आयुष घलान र दीनेश हेन्जन चोटका कारण बाहिर रहँदा कमल थापा पारिवारिक कारणले टोलीमा छैनन् । यसबाहेक केहि खेलाडी भने कोरोना संक्रमणका कारण आइसोलेसनमा नै छन् ।
राष्ट्रिय टोलीका फिजियो आविष्कार पुडासैनीले कोरोनाका कारण बाहिर रहेका खेलाडीको अवस्था सामान्य रहेको जानकारी दिए । उनले कोरोना संक्रमण भएका र संक्रमणबाट मुक्त भएर प्रशिक्षण फर्कने खेलाडीका लागि पनि विशेष योजना रहेको बताए ।
‘हामीले हाल सातदोबाटोस्थित होस्टेलमा नै आइसोलेसन सेन्टर बनाएका छौं । उक्त क्षेत्रमा संक्रमित खेलाडी मात्र बस्छन् र सम्पूर्ण सुविधा छ । आइसोलेसनमा नै रहनुभएका केहि खेलाडी घाइते पनि हुनुहुन्छ । हामीले भिडियो कलमार्फत आवश्यक समन्वय गरेका छौं,’ उनले भने, ‘अन्तर्राष्ट्रिय खेल क्षेत्रमा जस्तै उनीहरुको फिटनेस लक्षित अभ्यास भएको छ । पूर्ण रुपमा बायो बबल भन्दापनि अवस्था अनुसार आवश्यक सावधानी अपनाइएको छ ।’

फिजियो पुडासैनीले कोरोना संक्रमणबाट मुक्त भएर फर्केका खेलाडीलाई पनि बिस्तारै पूर्ण प्रशिक्षणमा फर्काउन योजना बनाएको बताए । ‘कोभिड नेगेटिभ आएपनि धेरै दिन प्रशिक्षण नगरेका कारण मांशपेशी तयार हुँदैन । त्यसका लागि प्रशिक्षणअघि केहि समय अगाडी नै आएर तयारी गरेका छौं । ३-४ दिन आइसोलेसन बसेका खेलाडीलाई पूर्ण प्रशिक्षणका लागि तयारी गर्न हामीले अहिले नै योजना बनाएका छौं,’ उनले प्रष्ट पारे ।
पुडासैनीले लिगमा चोटको संख्या बढेपनि ठिक हुने दर पनि बढेको जानकारी दिए । ‘लिगमा यसपटक चोटको संख्या बढेको छ । तर लिगमा क्लबका फिजियोहरुले राम्रो काम गर्नुभएको छ । त्यसले गर्दा हामीलाई पनि यहाँ सजिलो भएको छ,’ उनले थपे, ‘फुटबलमा चोट नै नलाग्ने भन्ने हुँदैन । तर चोट लागेपनि त्यसमा ठिक हुने क्रम पनि रहेको छ । यो पटक लिगमा ठिक हुने दर राम्रो रहेको छ ।’
फिजियो पुडासैनी सन् २०१९ देखि राष्ट्रिय टोलीको फिजियोको रुपमा कार्यरत छन् । त्यसअघि थ्री स्टारको फिजियो रहेका उनी साफ च्याम्पियनसिप दौरान पनि टोलीका सदस्य थिए । लिगमा नियमित रुपमा मैदानमा उपस्थित रहने उनले राष्ट्रिय टोलीका खेलाडी मात्र नभएर अन्य खेलाडीको अवस्था पनि हेर्दै आएका छन् । राष्ट्रिय टोलीका खेलाडीले क्लबमा चोट बोकेपनि उनले नियमित सम्पर्कमा रहने र सम्भव भएसम्म आफैं फिजियो गराउने गरेको बताए ।
पूर्ण भिडियो :