काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीसँगको दुई मैत्रीपूर्ण खेलका लागि मोरिससको राष्ट्रिय फुटबल टोली सोमबार काठमाडौं आइपुग्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरका अनुसार मोरिससको टोली विहान ११:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेछ । नेपाल र मोरिससबीच दशरथ रंगशालामा माघ १५ (शनिबार) र माघ १८ (मंगलबार) दुई मैत्रीपूर्ण खेल हुँदैछन् ।
नेपाली टोली अहिले प्रशिक्षणमा व्यस्त छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टोलीलाई नियमित प्रशिक्षण दिइरहेका छन् । अलमुताइरीले केही दिनमा नै अन्तिम टोली घोषणा गर्ने सम्भावना छ ।
दर्शकसहित वा विना दर्शक खेल गराउने भन्ने निर्णय लिन बाँकी रहेको एन्फा महासचिव तुलाधरले बताए । ‘एक तिहाई दर्शक राख्ने सम्भावनाबारे छलफल भइरहेको छ । तर, जिल्ला प्रशासनसँग समन्वय गरेर दर्शक राखेर वा विना दर्शक गराउने विषयमा निर्णय गर्नैछौं । केहि दिनमा निर्णय गछौं,’ उनले भने ।

माल्दिभ्समा असोजमा भएको साफ च्याम्पियनसिपयता नेपाली टोलीले कुनै अन्तर्राष्ट्रिय खेल खेलेको छैन । त्यति बेला पहिलो पटक नेपाली टोली फाइनल पुगेको थियो । नेपालले साफअघि घरेलु मैदानमा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसबेला नेपालले १ बराबरी र १ हारको नतिजा निकालेको थियो ।
राष्ट्रिय टोलीको प्रशिक्षणको तस्बिरहरु हेर्न यहाँ थिच्नुहोस