एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ सम्मिलित माजिया स्पोर्ट्स एन्ड रिक्रिएसन माल्दिभ्सको प्रेसिडेन्ट कप २०२१/२२ को फाइनलमा पराजित भएको छ ।

आइतबार भएको फाइनलमा क्लब भ्यालेन्सियासँग अतिरिक्त समयमा २-१ को हार बेहोर्दै माजिया प्रतियोगिताको उपविजेतामा सिमित भयो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । किरणले खेलमा पूरा समय मैदानमा बिताएका थिए ।
खेलमा क्लब भ्यालेन्सियाले खेलको तेस्रो मिनेटमा नै मार्टिन बोर्जासको गोलमा अग्रता लिएको थियो । पहिलो हाफको ४० औं मिनेटमा कप्तान मोहमद इरुफानले बराबरी गोल फर्काउँदै माजियालाई खेलमा फर्काए । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल ३० मिनेट अतिरिक्त समयमा बढेको थियो ।
क्लब भ्यालेन्सियाले खेलको १ सय ४ औं मिनेटमा पुन: अग्रता लियो । बोर्जासले खेलमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई उपाधि नजिक पुर्याए । यससँगै क्लब भ्यालेन्सियाले गत महिना च्यारिटी सिल्डमा बेहोरेको हारको बदला लिएको छ । त्यसबेला माजियाले भ्यालेन्सियालाई ५-० ले हराउँदै उपाधि जितेको थियो ।
किरण अब मौरिसस र नेपालबीच हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आउने कार्यक्रम रहेको छ । नेपालले माघ १५ र १८ गते दशरथ रंगशालामा खेल्दैछ । नेपाली टोली विगत एक सातायता नियमित प्रशिक्षणमा रहेको छ ।