पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताका तीन टोली सेमिफाइनल पुगिसकेका छन् । जसमा नेपाल एपिएफ फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लब छन् ।

त्यसमध्ये मनाङले मात्र आहा गोल्ड कप जितेको छ । एपिएफले एक पटक फाइनल खेलेको छ भने मछिन्द्रलाई आहा गोल्डकपको फाइनल खेलेको अनुभव छैन । यसपटक मछिन्द्रले साविक विजेता संकटा क्लबलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । आर्मी भने अहिले सम्म आहा राराको च्याम्पियन बन्न सकेको छैन ।
आहाका सर्वाधिक सफल क्लब मध्ये थ्री स्टार दोस्रोमा आउँछ । मनाङ र नेपाल पुलिस क्लबले समान ६ पटक आहा गोल्ड कप जितेका छन् भने थ्री स्टारले ५ पटक जितेको छ । थ्री स्टारले २०६३, २०६७, २०६९, २०७१ र पछिल्लो पटक २०७५ मा आहा गोल्ड कप जितेको थियो । ६ पटक फाइनल पुगेको थ्री स्टार २०७४ मा भने पुलिससँग पराजित भएको थियो ।
जारी आहा राराको सेमिफाइनल पुग्ने चौथो टोलीको छिनोफानो मंगलबार हुनेछ । सेमिफाइनल प्रवेशका लागि ए डिभिजनका चर्चित मध्येका दुई क्लब थ्री स्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यो चौथो तथा अन्तिम क्वार्टरफाइनल खेल पोखरा रंगशालामा दिउँसो २ः३० बजे सुरु हुनेछ । दुवै टोलीले यसपटक आहामा सिधै क्वार्टरफाइनलमा प्रवेश पाएका थिए । यि दुई टोलीमध्ये थ्री स्टार क्लबसँग आहा गोल्ड कप जितेको अनुभव छ ।
आर्मीले २०६५, २०७२,२०७४ र २०७५ मा फाइनल खेलेको थियो । २०७५ को फाइनलमा आर्मी थ्री स्टारसँग नै पराजित भएको थियो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा थ्री स्टारले ५–४ ले बाजी मारेको थियो । यसपटक ठिक एक महिनामा थ्री स्टार आर्मीबीच भेट हुन लागेको छ । पुसको ११ गते दशरथ रंगशालामा यि दुई टोलीले सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणमा खेलेका थिए । त्यो खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।
लिगको नवौ चरणको समाप्ती (एक खेल हुन बाँकी) मा एक अंकको अन्तरमा आर्मी र थ्री स्टार अंक तालिकाको तेस्रो र चौथो स्थानमा छन् । ९ खेलमा आर्मीको १७ र थ्री स्टारको १६ अंक छ । दुवैले समान ४ खेल जितेका छन् भने आर्मीले ५ बराबरी खेल्दा थ्री स्टारले ४ खेलमा बराबरी गरेको छ । थ्री स्टारले एक खेल गुमएको थियो । आर्मी र मछिन्द्र मात्र नवौ चरण सम्म अपराजित रहेका टोली हुन् । लिगमा मछिन्द्र २३ अंकका साथ शीर्षस्थानमा र १९ अंकसहित मनाङ दोस्रो स्थानमा छ ।