काठमाडौं (हाम्रो खेलकुद) – कुवेतमा हुने एएफसी एसियन कप २०२३ को छनोटको लागि नेपाली टोली घोषणा भएको छ । घोषित टोलीमा कप्तान किरण चेम्जोङसहित प्रशिक्षण बाहिर रहेका ११ खेलाडी टोलीमा रहेका छैनन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले शुक्रबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । घोषित टोलीमा मुख्य प्रशिक्षक अलमुताइरीकै कारण प्रशिक्षण क्याम्प छाड्न बाध्य भएका १० सहितको टोलीलाई समेटिएको छैन । यसमा माल्दिभ्सका लिग खेलिरहेका कप्तान तथा गोलरक्षक किरण चेम्जोङलाई पनि प्रशिक्षक अलमुताइरीले टोलीमा समेटेका छैनन् ।
टोलीका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले यसअघि नै नेपाली टोलीले एसियन कपमा छनोट हुन नसक्ने बताइसकेका छन् । प्रशिक्षण दौरान नै सिनियर खेलाडी रोहित चन्दसँग होस्टेल कि होटेलमा भन्ने विषयमा विवाद भएपछि प्रशिक्षक अलमुताइरीले क्याम्प छाडेर जान धम्की दिएपछि रोहितसँगै १० खेलाडीले क्याम्प छाडेका थिए । त्यसपछि खेलाडीले प्रशिक्षककै कारण क्याम्प छाड्न बाध्य बनेको बनाइरहँदा पनि एन्फाले यस विषयमा आफ्नो कुनै धारणा सार्वजनिक गर्न नसक्दा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो ।
यसबीचमा १० खेलाडी बाहिरिएसँगै प्रशिक्षक अलमुताइरीले १७ नयाँ खेलाडीलाई थप्दै प्रशिक्षणलाई निरन्तरता दिएका थिए । प्रशिक्षणसँगै टोलीले नेपालमै रहेका क्यामरुनको एभेनिर एफसीसँग चार मैत्रीपुर्ण खेल खेलेको थियो । जसमा दुई बराबरी र समान एक जित र हारको नतिजा निकालेको छ ।
यो अवधिमा सेनाका अवकाश प्राप्त भिक्टर राणा संयोजक रहेको छानविन समितिले बुधबार मात्रै २८ पेज लामो प्रतिवेदन एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई पेश गरेका थिए । तर छानविन समितिको निर्णय सार्वजनिक नहुँदै प्रशिक्षक अलमुताइरीले एएफसी कपको लागि अन्तिम टोली घोषणा गरे ।
अन्तिम टोली :
गोलरक्षक – दीप कार्की, विशाल सुनार र टिकेन्द्र सिंह थापा
डिफेन्डर – विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल
मिडफिल्डर – आकाश बुढा मगर, एरिक विष्ट, निर कुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्वे, सुनिल बल र सुरज ज्यू ठकुरी
फरवार्ड – आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ