काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को अर्को महिना हुने निर्वाचनका लागि मनोनयन दर्ताको एक दिन बाँकी रहँदा अध्यक्षका प्रत्यासी पंकज विक्रम नेम्बाङको प्यानलले विभिन्न पदमा बुधबार उम्मेदवारी दर्ता गराएको छ ।

एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङ र अध्यक्ष कर्मा छिरिङसहित उनको प्यानलले बुधबार नै उम्मेदवारी दर्ता गराएका थिए ।नेम्बाङ प्यानलबाट वरिष्ठ उपाध्यक्षका रुपमा अहिले उपाध्यक्ष वीरबहादुर खड्काले मनोनयन दर्ता गराएका छन् । शेर्पा समूहले शिक्षित पराजुलीलाई वरिष्ठ उपाध्यक्षमा प्रस्तुत गरेको छ ।
नेम्बाङको समूहबाट ४ उपाध्यक्षका लागि काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष समेत रहेका एन्फाका पूर्व कोषाध्यक्ष विराटजंग शाही, एन्फा सदस्य दावा लामा, एनआरटीका सुन्दरनरसिंह जोशी र धादिङ एन्फाका अध्यक्ष दीपक खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।
एन्फाको २१ सदस्यीय कार्यसमितिका लागि असार ६ गते निर्वाचन हुनेछ । जसमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य रहेका छन् । नेम्बाङकोतर्फबाट भोजपुर एन्फा प्रविण सुवाल, ललिपुर एन्फा अध्यक्ष पुरुषोत्तम थापा, जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री, मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष एवंम् एन्फा सदस्य विजय घले, रौतहटका नेपाल कार्की, धनुपाका तपेश्वर राउत र काभ्रेका विकास नारायण श्रेष्ठले सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
अनौपचारिक रुपमा प्यानल भनिएपनि उम्मेदवारी दर्ता भने स्वतन्त्र रुपमा गर्नुपर्ने हुन्छ । नेम्बाङ समूहमा रहेका भनिएका बाँके एन्फाका अध्यक्ष भोजराज शाही, सुर्खेत एन्फाका अध्यक्ष रविन्द्र चन्द र कैलाली एन्फाका अनिल मल्लले सदस्यमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।
बुधबार शेर्पा समूहबाट एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह, सदस्यद्वय दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ र पूर्व अन्तर्राष्ट्रिय खेलाडी विज्ञानराज शर्माले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका थिए । सोही समूहबाट मणिकुमार लिम्बु, मणिराज विष्ट, तपेश्वरकुमार राउत, मानदेव हजारा, दिपेन्द्र धिमाल बुढथापा, अनिल श्रेष्ठ, रामराजा गुरुङ, लोकेन्द्र गुरुङ, प्रदेश सिंह राठोर र रुपेश अधिकारीले सदस्यमा मनोनयन दर्ता गराएका थिए । महिला सदस्यका लागि विमला पौडेल, सरिला श्रेष्ठ, विन्द्रा देवान मनोनयन दर्ता गराएका थिए ।