पोखरा (हाम्रो खेलकुद) – अतिरिक्त समयमा आयोजक हेम्जा युनाइटेडलाई पराजित गर्दै क्यामरुनी क्लब एभिनियर एफसी छैटौं शुभकामना अन्तर्राष्ट्रिय हेम्जा गोल्डकपको च्याम्पियन बनेको छ ।

गौरीशंकर खेलमैदानमा आइतबार भएको फाइनलमा हेमजा युनाइटेडलाई ३–१ ले पराजित गर्दै एभिनियर च्याम्पियन बन्न सफल भएको हो । एभिनियरलाई च्याम्पियन बनाउन आनिसे, साङ र विल्लेले गोल गरे । हेम्जाका सुशिल राईले एक गोल फर्काए ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्विएको थियो । अतिरिक्त समयमा एभिनियरले दुई गोल थप्दै च्याम्पियन बन्न सफल भयो ।
छैटौं मिनेटमा आनिसेले गोल गर्दै एभिनियरलाई सुरुवाती अग्रता दिलाए । विल्लेको कर्नरलाई आनिसेले हेड जाली चुमाएका थिए । ३५औं मिनेटमा सुशील राईले गोल गर्दै हेम्जालाई खेलमा बराबरीमा ल्याए । एभिनियरका डिफेन्डर र गोलरक्षक कोभास्सी झुक्किदाँ सुशिलले उत्कृष्ट गोल गर्न सफल भएका थिए ।
त्यसपछि निर्धारित समयमा थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्वियो । ९८औं मिनेटमा साङले गोल गर्दै एभिनियरलाई २–१ ले अघि बढाए । १०६औं मिनेटमा विल्लेले गोल टोलीलाई च्याम्पियन बनाए ।
उपाधिसँगै एभिनियरले ६ लाख रुपैयाँसँगै शिल्ड हात पारेको छ । उपविजेता बनेको हेम्जाले ३ लाख रुपैयाँ प्राप्त ग¥यो । विजयी टोली तथा खेलाडीलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजिव गुरुङले पुरस्कृत गरे ।
असार ४ गतेदेखि शुरु भएको प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, क्यामरुनी एभिनियर, खुमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेडको सहभागिता रहेको थियो ।