काठमाडौ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फाको अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नविन पाँडेको नियुक्ति विधान विपरित नभएको जनाएको छ ।

एन्फाले सोमबार एक विज्ञप्ति जारी गर्दै विधान मिचेर पाँडेलाई नियुक्त नगरिएको जनाएको छ । एन्फाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले अन्तर्राष्ट्रिय विभाग प्रमुखमा पाँडेलाई नियुक्ति गरेको थियो ।
पाँडेको नियुक्ति विधान विपरित भएको भन्दै आलोचना भइरहेको छ । एक साताअघि पंकज विक्रम नेम्वाङ नेतृत्वमा एन्फाको नयाँ कार्यसमिति चयन भएको थियो ।
संघको विधानको धारा २४ को ३ र क मा स्पष्टसँग गैर नेपाली नागरिक एन्फा, प्रदेश फुटबल संघ, जिल्ला फुटबल संघमा निर्वाचित वा मनोनित हुन सक्नेछैन भनेर ब्याख्या गरिएको र फुटबल खेलको विकासको लागि मुख्य प्रशिक्षक, प्रशिक्षक, फुटबल प्राविधिक लगायतका पदमा विदेशी नागरिकलाई प्रयोग दिने चलन रहेको कारण उनको नियुक्ति विधान विपरित नरहेको एन्फाले जनाएको छ ।
यस्तै एन्फाले पाँडेले यस संघबाट कुनै तलब सुविधा नलिई स्वैच्छिक रुपमा सो पदमा रहेर काम गर्ने जनाएको छ । चार वर्षअघि कर्माछिरिङ शेर्पा अध्यक्षमा निर्वाचित भएपछि पाँडेलाई नै अन्तर्राष्ट्रिय विभाग प्रमुखको नियुक्त गरेको थियो । तर, उनले झन्डै ८ महिनापछि राजीनामा दिएका थिए ।
