एजेन्सी – इंग्लिस क्लब लिभरपुलका बेल्जियन विंगर डिभोक ओरिगी इटालियन क्लब एसी मिलानमा अनुबन्धित भएका छन् । मिलानले ओरिगीलाई फ्रि ट्रान्सफरमा ४ वर्षको लागि अनुबन्ध गरेको हो ।

लिभरपुलका लागि ८ वर्ष खेलेका २७ वर्षीय ओरिगी सिजनको अन्त्यसँगै ओरिगी फ्रि एजेन्ट बनेका थिए । लिभरपुलका लागि उनले १ सय ७५ खेलमा ४१ गोल गरेका छन् । बेल्जियन क्लब जेन्क र लिलबाट आफ्नो प्रतिभा निखारेका ओरिगीले सन् २०१२–१३ को सिजनबाट लिलबाटै व्यवसायिक खेल करिअर शुरु गरेका थिए ।
लिलका लागि ८९ खेलमा १६ गोल गरेपछि ओरिगी २०१५–१६ को सिजनमा मर्सिसाइड क्लब लिभरपुलमा अनुबन्ध भएका थिए । लिभरपुलमा सुरुवाती दुई सिजनमा ७७ खेलमा २१ गोल गरेका उनी त्यसपछि एक सिजनका लागि लोनमा जर्मन क्लब वल्फ्सवर्गमा पुगेका थिए । त्यहाँ उनले ३६ खेलमा ७ गोल गरेपछि उनी पुन लिभरपुल फर्किएका थिए । त्यसपछि उनले थप ९८ खेलमा २० गोल गर्न सफल भए ।
लिभरपुलले प्रिमियर लिग, एफए कप, लिग कप च्याम्पियन्स लिग, युइएफए सुपर कप र क्लब विश्वकप जित्दा उनी टोलीमा महत्वपूर्ण सदस्य रहेका थिए ।
बेल्जियमका लागि ३२ क्याप जितेका उनले ३ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनी २०१४ मा ब्राजिलमा भएको फिफा विश्वकपमा बेल्जियमको इतिहासमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए ।