एजेन्सी – जोन ग्याम्पर ट्रफीमा क्याटलान क्लब बार्सिलोनाको प्रतिद्धन्द्धी मेक्सिकन क्लब पुमास युनाम हुने भएको छ ।यसअघि इटालियन क्लब एस रोमाले खेल्ने तालिका रहेपनि रोमाले आफ्नो नाम फिर्ता लिएपछि बार्सिलोनाले घरेलु मैदानमा हुने ट्रफीका लागि नयाँ प्रतिद्धन्द्धी पुमास पाएको हो ।

रोमाले नखेल्ने बताएपछि बार्सिलोनाले इटालियन क्लब एसी मिलान र एटलाससँग छलफल गरेपनि उनीहरुले खेल्न मानेनन् । युरोपियन सुपर लिगलाई समर्थन गरेका कारण बार्सिलोनाले युरोपेली प्रतिद्धन्द्धी नपाएपछि अन्य महादेशको प्रतिद्धन्द्धीसँग खेल्नुपर्ने स्थिति आएको हो ।
बार्सिलोना र पुमासबीचको खेल ७ अगस्टमा क्याम्प नोउमा हुनेछ । जोन ग्याम्पर ट्रफीमै बार्सिलोनाको महिला टोलीले २३ अगस्टमा फ्रान्सेली मोन्टपेलिएरसँग खेल्नेछ । बार्सिलोनाले महिला र पुरुष दुवैमा एक प्रतिद्धन्द्धी खेलाउने योजना बनाएपनि त्यो सफल हुन सकेन ।
बार्सिलोनाले नयाँ सिजनको ला लिगा खेल्नुअघि हरेक वर्ष जोन ग्याम्पर कप आयोजना गर्ने गर्दछ । हालसम्म ५६ पटक यो कपको आयोजना हुदा बार्सिलोनाले सर्वाधिक ४४ पटक यो उपाधि जितेको छ । गत वर्ष बार्सिलोनाले युभेन्ट्सलाई हराएर उपाधि जितेको थियो ।
एफसी कोल्नले दुईपटक तथा अज्पेस्ट, बोरुसिया मोन्चेनग्लाडवाक, इन्टर नासिनोल, पोर्टाे, मेचेलेन, टेरेरिफ, भ्यालेन्सिया, युभेन्ट्स, म्यानचेस्टर सिटी र साम्पडोरियाले समान एक पटक उपाधि जितेका छन् ।