एजेन्सी – इंग्लिस क्लब चेल्सीले स्पेनिस डिफेन्डर मार्क कुकुरेलालाई क्लबमा अनुबन्ध गरेको छ । चेल्सीलाई कुकुरेलालाई अर्काे प्रिमियर लिग क्लब ब्राइटनबाट अनुबन्ध गरेको हो ।

चेल्सीले २४ वर्षीय डिफेन्डरलाई ६० मिलियन पाउन्डमा ६ वर्षको लागि भित्र्याएको हो । ब्राइटनको यो क्लबको कीर्तिमानी बिक्री हो । यसअघि ब्राइटनले गत सिजन बेन ह्वाइटलाई आर्सनलमा ५० मिलियन पाउन्डमा बिक्री गरेको थियो । म्यानचेस्टर सिटीले पनि कुकुरेला अनुबन्ध गर्ने इच्छा देखाएको थियो । तर चेल्सीले बढी रकम प्रस्ताव गर्दै डिफेन्डरलाई अनुबन्ध गर्यो ।
क्याटलान क्लब बार्सिलोनाको एकेडेमीमा हुर्किएका कुकुरेलाले ब्राइटन बसाइँ १ वर्षमै बिट मारे । उनले ब्राइटनका लागि गत सिजन ३८ खेलमा एक गोल गरेका थिए । प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले गत महिना कुकुरेलाको लागि ३० मिलियन पाउन्डको प्रस्ताव गर्दा ब्राइटनले अस्वीकार गरेको थियो ।
‘म साँच्चै खुशी छु । यो मेरो लागि विश्वको उत्कृष्ट क्लबहरुमध्ये एकमा सामेल हुनु ठुलो अवसर हो,’ चेल्सीमा अनुबन्ध भएपछि कुकुरेलाले भने, ‘टोलीको उपाधिको लागि कडा मिहेनत गर्नेछु । टोलीको सफलताको सारथी बन्ने प्रयास गर्नेछु ।’

‘हामी मार्कलाई गुमाउन चाहँदैनथ्यौं, तर उनी स्पेनबाट यस वर्ष विश्वकप खेल्ने लक्ष्यमा रहेकाले च्याम्पियन्स लिग खेल्ने टोलीमा जाने उनको चाहना थियो,’ ब्राइटनका प्रवन्धक ग्राहम पोटरले भने, ‘उनले प्रिमियर लिगको पहिलो सिजन उत्कृष्ट खेलेका छन् । विगत १२ महिनासँगै काम गर्न पाउँदा एकदमै खुसी लागेको छ ।’
२०१७–१८ को सिजनमा बार्सिलोनाको सिनियर टोलीमा स्थान बनाएका उनले बार्सिलोनाका लागि केवल एक खेल मात्रै खेलेका छन् । दुई सिजन लोनमा एइवार र गेटाफेमा बिताएका कुकुरेला त्यसपछि गेटाफेको स्थायी खेलाडी बनेका थिए । स्पेनको सिनियर टोलीबाट एक क्याप जितेका कुकुरेला टोकियो ओलम्पिकमा स्पेनले रजत जित्दा टोलीमा सदस्य थिए ।
यो समरमा चेल्सीले म्यानचेस्टर सिटीका रहिम स्टर्लिङलाई ५० मिलियन पाउण्डमा, नेपोलीबाट सेनेगलका डिफेन्डर कालिडो कौलिबालीलाई ३४ मिलियन पाउण्डमा र एस्टन भिल्लाका मिडफिल्डर कार्नी चुकवेमेकालाई २० मिलियन पाउण्डमा अनुबन्ध गरेको छ ।
१८ वर्षीय अमेरिकी गोलकिपर ग्राब्रिएल स्लोनिनालाई सिकागो फायरबाट १२ मिलियन पाउन्डमा अनुबन्ध गर्दा उनी अर्काे सिजनदेखि मात्रै स्टामफोर्ड ब्रिजमा आउछन् । यसैबीच चेल्सीका १९ वर्षीय डिफेन्डर लेभि कोलविल सिजन लामो लोनमा ब्राइटनमा आबद्ध भएका छन् ।