काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका फरवार्ड विमल राना र मिडफिल्डर हेमन्त थापा मगर अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

एन्फा एकेडेमीको उत्पादन २४ वर्षीय हेमन्त शनिबार अष्ट्रेलिया पुगेका हुन् । गत सिजन सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लब बाट खेलेका थिए । त्यसअघि उनले च्यासल युथ क्लबबाट शीर्ष डिभिजनको लिग खेलेका थिए ।
हेमन्तले सन् २०१६ जुन ६ मा भारतसँगको मैत्रीपूर्ण खेलबाट सिनियर टोलीमा डेब्यु गरेका थिए । त्यसयता उनी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेपनि टोलीमा स्थान बनाउन संघर्ष गरिरहेको थिए । हेमन्तले नेपालको उमेर समूहबाट साफ यू–१९ च्याम्पियनसिप जितेका छन् । हेमन्तले थ्री स्टारसँगै च्यासल, मनाङ–मर्स्याङ्दीलगायत विभिन्न क्लबबाट मोफसलका प्रतियोगिताहरु खेलेका छन् ।
शुक्रबार मात्रै नेपाली राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका फरवार्ड विमल राना अष्ट्रेलिया पुगेका थिए । विमलले २०१९ मार्च २१ मा कुवेतविरुद्धको मैत्रीपूर्णको ७३औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान छिर्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनी त्यसयता टोलीमा भित्र बाहिर रहँदै आएका छन् । उनले मनाङ मर्स्याङ्दी क्लबबाट खेल्दै आएका छन् । उनी टोलीको उपकप्तान समेत रहेका थिए ।

विमल र हेमन्तले अष्ट्रेलियास्थित सिड्नीमा रहेको गोर्खा नेप्लिज लिग (जिएनसी) लिग क्लब फेवा क्लबबाट खेल्नेछन् । उनीहरुले फेवा क्लबको आयोजनामा १४ अगस्टमा हुने ताल बाराही कप खेल्ने कार्यक्रम छ । त्यसपछि उनीहरुले यसै फेवा क्लबबाट त्यहाँको लिग खेल्नेछन् ।
अष्ट्रेलियामा हुने फुटबल लिग खेल्न नेपाली राष्ट्रिय टोलीका सदस्यहरु यसअघि नै अष्ट्रेलिया पुगिसकेका छन् । पछिल्लो दुई महिनामा अष्ट्रेलिया पुग्ने हेमन्त सातौं नेपाली खेलाडी हुन् । यसअघि राष्ट्रिय टोलीकै सदस्य सुमन लामा, आशिष लामा, सन्तोष तामाङ, दर्शन गुरुङ, नविन गुरुङ र विमल राना अष्ट्रेलिया पुगिसकेका छन् ।
मिडफिल्डर हेमन गुरुङ, गोलरक्षक एलन न्यौपाने र जगजित श्रेष्ठसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका विमल बस्नेत पनि दुई वर्षयता अष्ट्रेलियामै रहेका छन् । त्यसअघि उमेर समूहमा राम्रो प्रदर्शन गरेका सुलभ मास्के, विवेक प्रताप पन्त लगायत खेलाडी पलायन भएका थिए ।