एजेन्सी – फरवार्ड लुइस सुआरेजको गोलमा नासियोनलले उरुग्वेली प्रिमियर लिग (प्रिमेरा डिभिजन क्लाउसेरा) मा पहिलो जित दर्ता गरेको छ ।

शनिबार बिहान भएको खेलमा नासियोनलले रेन्टिसटासलाई ३–० ले पराजित गरेको हो । नासियोनलको जितमा सुआरेजसँगै जोस रोड्रिग्वेज र इग्नासियो रामिरेजले गोल गरे ।
खेलको चौथो मिनेटमा जोस रोड्रिग्वेजको गोलबाट नासियोनलले १–० को अग्रता लिन सफल भयो । ४२औं मिनेटमा इग्नासियो रामिरेजले गोल गर्दै नासियोनलको अग्रता दोब्बर पारे । सुआरेजले ५९औं मिनेटमा गोल गर्दै टोलीको जित पक्का गरे ।
(प्रिमेरा डिभिजन क्लाउसेरा) मा नासियोनलको पहिलो जित हो ।
यो जितसँगै नासियोनल २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । नासियोनल पहिलो खेलमा डिपोर्टिभो माल्दोनाडोसँग पराजित भएको थियो ।
इंग्लिस क्लब लिभरपुल र क्याटलान क्लब बार्सिलोनाका पूर्व फरवार्ड सुआरेज यसै समरमा फ्रि एजेन्टमार्फत १६ वर्षपछि आफ्नो पूर्व क्लब नासियोनल फर्किएका हुन् ।
३५ वर्षीय सुआरेजले कोपा सुडामेरिकानमा ब्राजिलियन क्लब एट्लेटिको गोइनानिन्सविरुद्धको खेलबाट नासियोनलका लागि दोस्रो पटक डेब्यु गरेका थिए । उनी ७४औं मिनेटमा मैदानमा छिरेका थिए । उक्त खेलमा नासियोनल १–० ले पराजित भएको थियो ।