पोखरा (हाम्रो खेलकुद)– सहारा क्लब पोखराले आयोजना गर्ने गोल्ड कप फुटबल प्रतियोगिता आउँदो १० वर्ष पनि आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताकै नाममा हुने भएको छ ।

आहा रारा चाउचाउको उत्पादक हिमश्री फुड्स प्रा.लि र सहारा क्लबबीच मंगलबार १० वषको सम्झौता नविकरण भएको छ । हिम श्री फुड्सकी कार्यकारी प्रेमकुमारी केसी र सहारा क्लबका अध्यक्ष हरिराम गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
गोल्ड कप पछिल्लो दुई दशकयता आहा रारा गोल्डकप प्रतियोगिताका रुपमा आयोजना हुँदै आएको छ । नविकरणपछि दुई संस्थाबीचको सहकार्य ३० वर्षको हुने पक्का भएको छ । घरेलु फुटबल इतिहासमा यो नै सबैभन्दा लामो सम्झौता हो।
उद्योगपति एवँ पूर्व सभासद स्व.सुर्य बहादुर के.सी.को पहलमा २०५९ सालमा आहा गोल्ड कप को नाउँबाट पहिलो पटक १० बर्षेको सम्झौता भएको थियो । दोस्रो पटक २०६९ देखि २०७८ सम्मको लागि सम्झौता नविकरण भएको थियो । पछिल्लो नविकरण २०८८ सालसम्मको लागि रहनेछ ।

सहाराले पहिलो पटक २०५८ सालमा गोल्डकपको आयोजना गरेको थियो । पहिलो संस्करण क्याराभान गोल्डकपको नाममा भएको थियो । समग्रमा गोल्डकप आयोजना २२ औं संस्करणमा पुग्दा आहा राराको नाममा २१ औं संस्करण आयोजनाको तयारीमा सहारा क्लब रहेको छ ।
यसपटकको सम्झौता अनुसार सहारा क्लब पोखरालाई मुख्य प्रायोजक हिमश्री फुडस प्रा.लिले .द्धारा बार्षिकरुपमा आगामी पहिलो ३ बर्ष १८ लाख, दोश्रो ३ बर्ष २१ लाख, तेश्रो ३ बर्ष २४ लाख र वि.सं.२०८८ सालमा २७ लाख रुपैयाँका प्रदान गर्नेछ ।प्रतियोगिताको व्यवस्थापकिय पक्षलाई मध्यनजर राखि अन्य अतिरिक्त आन्तरिक खर्च बापत हिमश्री फुडसले बार्षिकरुपमा पहिलो प्रत्येक ३ बर्ष एकमुष्ठ ४ लाख ५० हजार, दोश्रो प्रत्येक ३ बर्ष ५ लाख २५ हजार, तेश्रो प्रत्येक ३ बर्ष ६ लाख २५ हजार र अन्तिम ०८८ सालमा ७ लाख प्रदान गर्ने पनि सम्झौतामा उल्लेख रहेको बताइएको छ ।

प्रतियोगिताबाट बचत रकम कठिन परिस्थिति र विपन्न बर्गका प्रशिक्षार्थीहरु सम्मिलित स्व.सुर्य बहादुर के.सि.सहारा फुटबल एकेडेमीमा खर्च गरिदै आईरहेको क्लबले जनाएको छ । सहाराले सञ्चालन गरेको एकेडेमीलाई व्यस्थितरुपमा संञ्चालन गर्न सहयोग पुगोस भन्ने उद्देश्यकासाथ के.सीको परिवारले बार्षिक रुपमा अलग्गै १५ लाख रुपैयाँ पनि सहयोग गर्दै आएको छ ।
त्यो सम्झौता पनि १० वर्षको रहेको र त्यसको सुरुको दुई वर्षको सहयोग पनि केसी परिवारले क्लबलाई उपलब्ध गराइसकेको सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका छन् । यसपटक आहा रारा गोल्डकप पुस १४ देखि २८ गते सम्म पोखरा रंगशालामा आयोजना हुने क्लबले यसअघि नै सार्वजनिक गरिसकेको छ ।