काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको पछिल्लो खेलमा कप्तानी गरेका रोहित चन्द व्यवसायिक फुटबलका लागि आइतबार इन्डोनेसिया फर्कदैछन् ।

इन्डोनेसियाको लिग वानमा असोज १५ गते एक खेलपछि भएको भाग दौडमा कम्तीमा १ सय २९ जनाको ज्यान गएपछि त्यहाँको लिग स्थगित थियो । त्यहि क्रममा स्वदेश फर्केका रोहितले कात्तिक ३० गते पाकिस्तानविरुद्ध भएको खेलमा नेपाली टोलीको कप्तानी गरेका थिए । त्यसमा अन्जन विष्टको गोलमा नेपालले पाकिस्तानलाई १–० ले हराएको थियो ।
नियमित कप्तान किरण चेम्जोङ भारतीय लिग (आइ लिग) मा व्यवस्त रहेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले रोहितलाई कप्तानको जिम्मेवारी दिएको थियो । टोलीको कप्तानी गर्न पाउनुलाई रोहितले गर्व र खुसीको क्षण भएको बताएका थिए ।

इन्डोनेसियाको लिग वान बुधबारदेखि पुनः सुरु हुने भएकोले रोहित त्यसतर्फ गएको उनका दाजु समेत रहेका एन्फाका केन्द्रिय सदस्य रविन्द्र चन्दले जानकारी दिए । बाटिक एयरबाट मलेसिया हुँदै उनी इन्डोनेसिया पुग्नेछन् ।
पछिल्लो पटक रोहित इन्डोनेसिया पुगेकै भोली पल्ट लिगमा दुर्घटना भएको थियो । रोहित सम्मलित पेर्सिक केडिरी ४ अंकसहित १८ क्लबको सहभागिता रहेको लिग वान अंकतालिकाको पुछारमा छ ।