एजेन्सी – दुई महिनाभन्दा लामो समयपछि सुरु भएको इन्डोनेसिया लिग वानमा नेपाली राष्ट्रिय टोलीका रोहित चन्द सम्मिलित पेर्सिक केडिरीको हारको सिलसिला रोकिएन । बुधबार भएको खेलमा पेर्सिक पेर्सिबसँग ३–० ले पराजित भएको थियो ।

यसै साता इन्डोनेसिया पुगेका रोहितले बुधबार पूरा समय खेलेका थिए । पेर्सिकले पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोलको सामना गरेको थियो । लिगका १२ खेलमा ८ हार र ४ बराबर खेलेको पेर्सिकले अहिले सम्म जितको खाता खोल्न सकेको छैन । ४ अंकसहित टोली १८ सहभागी लिगको पुछारमा रहेको छ ।
रोहित यहि सिजन पर्सिजा जाकार्ता छाडेर पेर्सिकमा आबद्ध भएका थिए । असोज १५ गते एक खेलपछि भएको भाग दौडमा कम्तीमा १ सय २९ जनाको ज्यान गएपछि त्यहाँको लिग स्थगित थियो । त्यसयता यसै साता लिग पुन सुरु भएको थियो । लिग स्थगित हुँदा रोहित स्वदेश फर्केका थिए ।
रोहितले कात्तिक ३० गते पाकिस्तानविरुद्ध भएको खेलमा नेपाली टोलीको कप्तानी गरेका थिए । त्यसमा अन्जन विष्टको गोलमा नेपालले पाकिस्तानलाई १–० ले हराएको थियो । नियमित कप्तान किरण चेम्जोङ भारतीय लिग (आइ लिग) मा व्यवस्त रहेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले रोहितलाई कप्तानको जिम्मेवारी दिएको थियो ।