दिपेश तिमल्सिना
सिलगुढी (भारत)–भारतसँग सोमबार सेमिफाइनलमा पराजित हुनु परेपनि आफ्नो टोलीले च्याम्पियनको शैलीमा खेलेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कुमार थापाले बताएका छन् ।

नेपाली टोलीका प्रशिक्षक कुमार थापा । फाइल फोटो
भारतसँग ३–१ ले पराजित हुँदै नेपाल चौथो साफ च्याम्पिनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । अघिल्ला तीन संस्करणमा नेपाल फाइनलमा पुगेको थियो । तीनै पटक नेपाल भारतसँग पराजित भएको थियो । आफ्नो टोलीले उच्च प्रदर्शन गरेको उल्लेख गर्दै प्रशिक्षक थापाले रेफ्रीको निर्णयको आलोचना गरे ।
‘तीन वटा पेनाल्टी पाउनु पर्ने दिएनन्’ उनले भने, ‘म मात्र होइन, भारतीय प्रशिक्षक पनि रेफ्रीको प्रदर्शनबाट सन्तुष्ट छैनन् ।’ थापाको नेतृत्वमा नेपालले खेलका ५ खेलमा यो पहिलो हार हो । दुई साताअघि मलेसियासँगको मैत्रीपूर्ण खेलमा थापाले प्रशिक्षकका रुपमा ‘डेब्यू’ गरेका थिए । मलेसियालाई नेपालले मलेसियालाई १–० ले हराएको थियो । साफ च्याम्पिनयसिपको समूह चरणमा भुटानलाई ८–०, माल्दिभ्सलाई ९–० र श्रीलंकालाई १–० ले हराएको थियो ।
सन् २०१० बाट सुरु भएको महिला साफ च्याम्पियनसिपको फाइनलमा पहिलो पटक नेपाल हुने छैन । अर्को सेमिफाइनल आजै साँझ माल्दिभ्स र बंगालदेशबीच हुँदैछ । साफ च्याम्पियनसिपको पहिलो संस्करणमा १–० को हार बेहोरेको नेपाल २०१२ को फाइनलमा ३–१ ले पराजित भएको थियो । २०१४ को फाइनलमा भने नेपाल ६–० ले पराजित भएको थियो ।