सिमरा (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका भरपर्दा डिफेन्डर अनन्त तामाङ चोटमुक्त भएर दुई महिना विश्रामपछि मैदानमा फर्कदैछन् । रुस्लान सिमरा गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा उनी आयोजक नव जनजागृती युवा क्लबबाट खेल्दैछन् ।
अनन्तसंगै राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ पनि आयोजक टोलीबाट मैदानमा उत्रनेछन् । मलेसियामा कात्तिक अन्तिममा भएको एएपफसी सोलिडारिटी कपका दौरान उनको घुँडामा चोट लागेको थियो । मंसिर १६ गते उनको घुडाँको शल्यक्रिया भएको थियो ।
नेपालको उमेर समूहदेखि सिनियर टोलीले पछिल्लो डेढ बर्षमा प्राप्त गरेका ४ सफलतामा उनी महत्वपूर्ण सदस्य रहेका थिए । अनन्तलाई एएफसी सोलिडारिटी कपको सेमिफाइनललाई चोट लागेको थियो । लाओससँगको सेमिफाइनलमा विपक्षी खेलाडीसँग ठोक्किएर उनको घुँडामा चोट लागेको थियो ।
चोटका वावजुद उनले मकाउविरुद्ध फाइनल खेलेका थिए । लाओससँग २–२ को बराबरी भएको खेलमा अनन्तले गोल गरेका थिए । त्यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल थियो ।सोलिडारिटी कप, त्यसअघि दक्षिण एसियाली खेलकुद (साग), बंगबन्धु गोल्डकप र साफ १९ उपाधि जित्दा अनन्त सबै टोलीमा थिए । एन्फा एकेडेमीका उत्पादन अनन्त सेन्टर डिफेन्डरका रुपमा खेल्दै आएका छन् ।
रुस्लान सिमरा गोल्डकपमा ए डिभिजनका पाँच र मोफसलका पाँच गरी १० टोलीको सहभागिता रहेको छ । ए डिभिजन त्रिभुवन आर्मी, एपिएफ, सिएमजी क्लब संकटा, हिमालयन शेर्पा र सरस्वती छन् । त्यस्तै मोसफलका आयोजकसहितसाविक विजेता बिजय युथ , उपविबजेता वीरगन्ज युनाईटेड, सहारा र रुपन्देही ११ छन् ।