काठमाडौं (हाम्रो खेलकुद) – स्याङजा ओरष्टे गाविस स्थित मड्कीनामा सञ्चालित दोश्रो नबज्योति कप फुटसल प्रतियोगिताको उपाधि राङभाङले जितेको छ । न्यू आदार्श क्लब र नवदय परिवारले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको बुधबार भएको फाइनलमा राङभाङले आयोजक ‘ए’ लाई २–० ले हराएको थियो । राङभाङले उपाधिसहित ४० हजार र आयोजक ‘ए’ ले २५ हजार रुपैयाँ प्राप्त गर्यो ।
प्रतियोगितामा राङभाङ १ ज्यामिरेकै अरुण गुरुङले सर्वाधिक गोलकर्ता र कोल्मा छ का अतित गुरुङले उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरे । पश्चिमाञ्चल फुटबल संघका सचिव तथा सहारा क्लवका सल्लाहकार परिषद् संयोजक बिक्रम थकाली, सहारा क्लवका बरिष्ठ उपाध्यक्ष केशव थापा, कोषाध्यक्ष बिश्वराज बराल, संस्थापक कोषाध्यक्ष रामचन्द्र गुरुङ, पूर्व कोषाध्यक्ष उमादेवी गुरुङ, गाविस सचिव नेत्र प्रसाद शर्मा लगाएतले विजेता उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।
क्षेत्रिय सचिव थकालीले ग्रामिण तहबाटै खेलकुदलाई महत्वका साथ सञ्चालन गर्नुपर्ने बताए । ‘गाउँलेहरु बसाइ सरेर सहर झरिसके । यो अवस्थामा ग्रामिण तहमा खेलाडी उत्पादन गर्न निकै कठिन छ,’ उनले भने,‘तर यस्ता प्रतियोगिताले गाउँबाटै खेलाडी उत्पादन हुन सक्छन् । यसको निरन्तरता आवश्यक छ ।’ उनले आवश्यक सहयोगका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।
मड्कीना घर भई हाल बेलायत बस्दै आएका चन्द्र बहादुर गुरुङ र दीलिप गुरुङको आर्थिक सहयोगका प्रतियोगिता सञ्चालन भएको थियो । उनीहरुले ब्यक्तिगत सहयोगमै गाउँमा फुटसल मैदान निर्माण गरिउको हो । खेलकुद मार्फत गाउँको प्रचारप्रसार र विकास गर्ने उद्देश्यले खेलमा लगानी गरेको समाजसेवी तथा प्रतियोगिताका अध्यक्ष चन्द्र गुरुङले बताए ।
गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव तथा न्यू आदर्श क्लबका अध्यक्ष रामचन्द्र शर्माले गरेका थिए । प्रतियोगितामा १६ टीमको सहभागीता थियो । सोही अवसरमा सहारा क्लव पोखराले नवदय परिवार र न्यू आदर्श क्लबलाई भलिबल र फुटबल सहयोग गरेको थियो ।