काठमाडौं (हाम्रो खेलकुद)– एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीलाई सरकारले घोषणा गरेको पुरस्कार सोमबार प्रदान गर्ने भएको छ ।
सरकारले टोलीका हरेक सदस्यलाई ३ लाख रुपैयाँबाट पुरस्कृत गर्ने यसअघि नै निर्णय गरिसकेको थियो । शुक्रबार पुरस्कार दिने भनिएपनि अन्तिम समयमा उक्त कार्यक्रम नहुने जानकारी दिईएको थियो। कात्तिक अन्त्यमा मलेसियाको कुचिङमा भएको सोलिडारिटी कपको फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपाल च्याम्पियन बनेको थियो । नेपालले एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता जितेको त्यो नै पहिलो थियो । त्यहि सफलताका कारण र ग्वामले नखेल्ने भएपछि नेपालले एएफसी एसियन कपको छनोटमा मौका पाएको थियो । सोलिडारिटी कप विजेता टोलीका सदस्यलाई एन्फाले पनि जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।
अनिल गुरुङको कप्तानीमा रहेको टोलीमा विकेश कुथु, रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी, विमल घर्तीमगर, विशाल राई, रञ्जन विष्ट, हेमन गुरुङ, विक्रम लामा, कमल श्रेष्ठ रहेका थिए । त्यस्तै अञ्जन विष्ट, सुजल श्रेष्ठ, किरण चेम्जोङ, सुमन लामा, नवयुग श्रेष्ठ, देवन्द्र तामाङ, विशाल श्रेष्ठ, भरत खवास, राजेन्द्र रावल र रञ्जित धिमाल टोलीका सदस्य थिए ।
प्रशिक्षण टोलीमा जापानी ग्यातुको कोजी मुख्य प्रशिक्षक तथा राजुकाजी शाक्य प्रशिक्षक, उज्जवल मानन्धर गोलकिपर प्रशिक्षक थिए । टोली व्यवस्थापकमा विराटजंग शाही, फिजियो सुरज भुसाल र मिडिया अफिसर सुवास हुमागाई थिए ।