दिपेश तिमल्सिना
मुम्बई– नेपाली समर्थकले फुटबलमा भारतसँगका कुनै पनि खेल महत्वका साथ हेर्ने गरेको परम्परा छ, यद्दपी त्यो मैत्रीपूर्ण किन नहोस् । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योतुकु कोजीले पनि भारतसँग मंगलबार साँझ हुने खेललाई महत्वपूर्ण मानेका छन् । त्यति मात्र होइन कोजीले खेललाई कठिन पनि ठानेका छन् ।
जेठ ३० गते एएफसी एसियन कप छनोटअन्तर्गत यमनसँग खेल्नु पर्ने नेपालले भारतसँगको मैत्रीपूर्ण खेललाई तयारीका रुपमा लिएका छन् । मुम्बईमा सोमबार भएको प्रि म्याच कन्फ्रेन्समा कोजीले भने,‘ भारतसँगको खेल हाम्रो लागि महत्वपूर्ण छ। भोलीको खेल कठिन र महत्वपूर्ण छ।’
पछिल्ला तीन बर्षयता भारतीय टोलीको प्रदर्शनमा सुधार आएकोले त्यस्तो टोलीसँग खेल्दा नेपाली टोलीलाई फाइदा पुग्ने कोजकिो विश्वास छ । भारत बलियो भएपनि नेपालले राम्रो खेल्ने कोजीले विश्वास व्यक्त गरे । उनले भने,‘ हामीलाई जित अवश्यक छ र हामी राम्रो खेल्ने प्रयासमा छौं । यमनसँगको खेलका लागि भनेर हामीले एक महिनादिख तयारी गरिहरहेका छौं ।’
नेपाली टोलीका कप्तान विराज महर्जनले पनि भारत विरुद्धको खेल महत्पूर्ण रहेको बताउँदै यस खेलबाट नेपालले धेरै कुरा सिक्न सकिने बताए । उनले नयाँ र पुराना खेलाडीको समिश्रणबाट बलियो टोली तयार होस् भन्ने चाहेको बताए ।
भारतीय प्रशिक्षक स्टेफन कनस्नटाइनले नेपालसँगको खेल सँधै प्रितस्पर्धात्मक हुने बताए। उनले भने,‘ भोली पनि राम्रो खेल हुने विश्वास छ । हामी जित्नेमा आशावादी छौं ।’ एसियन कप छनोटमा नेपाल र यमनको खेल हुने दिन भारतले पनि कीर्गिस्तानको सामना गर्दैछ ।
भारत अहिले फिफा वरियताको सयौं स्थानमा छ । प्रशिक्षक कनस्टाइनले निकै मेहनतपछि मात्र भारतले वरियतामा सफलता प्राप्त गरेको बताए । यद्दपी वरियताले मात्र प्रदर्शनमा धेरै अन्तर नहुने उनको बुझाई छ ।
भारतका नियमित कप्तान सुनिल क्षेत्री भने नेपालविरुद्ध नखेल्ने भएका छन् । नेपालविरुद्ध गुरप्रित सिंह सान्धुले टोलीको कप्तानी गर्नेछन् । गुरप्रितले पछिल्लो दुई बर्षमा भारतले उच्च प्रदर्शन गरेको बताए । यसअघि भारतले लेवनानसँग मैत्रीपूर्ण खेल खेल्ने तय थियो ।
तर आन्तरिक कारणले लेवनानले नखेल्ने जनाएपछि भारतको आग्रहमा नेपालसँग मैत्रीपूर्ण खेल तय भएको थियो । एसियन कप छनोटमा नेपालले फिलिपिन्ससँग ४–१ को हार बेहोरेको थियो । तर, भारत भने विजयी भएको थियो ।
नेपाल र भारतको राष्ट्रिय टोलीबीच अहिले सम्म १८ पटक प्रतिस्पर्धा हुँदा नेपालले दुईवटा खेल मात्र जितेको थियो । १२ खेलमा हारेको नेपालले भारतसँग ४ खेलमा भने बराबरी गरेको छ ।
भोलीको मैत्रीपूर्ण खेल
स्थान – अँधेरी कम्प्लेक्स मुम्बई
समय –नेपाली समयन अनुसार साझ ७ः१५ बजे