दिपेश तिमल्सिना / सुमन नेपाल
मुम्बई – यमनसँग अर्को साता हुने एएफसी एसियन कप छनोटअन्तर्गत समूह चरणको खेलअघि नेपाली राष्ट्रिय फुटबल टोली भारतीय टोलीसँग उसकै मैदानमा २–० ले पराजित भएपछि नेपाली टोलीका प्रशिक्षक ग्यातुको कोजीले पाएको अवसर उपयोग गर्न नसक्नुनै खेलाडीको कमजोर रहेको बताए ।
मुम्बईस्थित अँधेरी स्पोट्र्स कम्प्लेक्समा टोलीको हारपछि कोजीले भने, ‘ हामीले राम्रो मौकामा पनि गोल गर्न सकेनौं । जसको कारण खेल हाम्रो पकडबाट फुत्कियो । मौकाको सदुपयोग गर्न नसक्नु नै हाम्रो मुख्य समस्या हो । ’ कोजीले नेपाली खेलाडीको दाजोमा भारतीय टखेलाडी शारीरिक रुपमा बलियो र अग्लो रहेको पनि बताए ।
प्रशिक्षक कोजीले कप्तान विराज महर्जनले पाएको रातो कार्डका विषयमा बोल्न चाहेनन् । आफुले राम्रो नदेखेकोले फुटेज नहेरी बोल्न नमिल्ने बताए ।
पहिलो हाफको अन्त्यतिर चोटमुक्त भएर टोलीमा पुनरागमन गरेका नवयुग श्रेष्ठले निकै राम्रो अवसर गुमाएपछि खेलमा पहिलो अग्रता लिने मौका नेपालले गुमाएको थियो । अञ्जन बिष्टले सुरु गरेको उत्कृस्ट काउन्टर एट्याक मा भारतका गोलकिपर गुरप्रीत सिंह सिन्धु विट भइसकेपछि नवयुगको प्रहार पोस्ट नजिकबाट बाहिरियो ।
भारतीय प्रशिक्षक स्टेफन कनस्नटाइनले नेपाल बलियो प्रतिद्वन्द्वि भएको दोहोराए । ‘हामीलाई मैत्रीपूर्ण खेल आफ्नो कमजोरी सुधार गर्नका लागि आवशयक छ ,’ उनले भने, ‘ नेपालले राम्रो खेल्यो । यसले हामीलाई कमजोरी थाहा पाउन मद्दत गर्यो । त्यसले आउने खेलमा सुधार गर्ने अवसर दिएको छ ।