काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द आफ्नो व्यवसायिक करियरलाई निरन्तरता दिन बुधबार इन्डोनेसिया तर्फ लागेका छन्। मंगलबार भएको यमन विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका रोहित राष्ट्रिय टोलिबाट खेल्न नेपाल आएका थिए।
अघिल्लो साता भएको भारत विरुद्धको मैत्रीपूर्ण खेलमा सहभागी हुन इन्डोनेसियाबाट मुम्बई पुगेका रोहितले उक्त खेलमा पनि राम्रो प्रदर्शन गरेका थिए। फिलिपिन्सविरुद्धको खेलमा चोटबाट पुनरागमन गरेका रोहित टोलीका महत्त्वपूर्ण खेलाडीका रुपमा स्थापित छन्।
इन्डोनेसियाको लिग वनको पर्सिजा जकार्ताबाट खेल्दै आएका रोहितले राष्ट्रिय टोलीमा आउँदा क्लबको एक खेल गुमाएका थिए। बिहिबार भएको खेलमा उनको टोलीले पीएस टिएनआइलाई २-०ले पराजित गरेको थियो। रोहितले क्लब छाड्नुअघि पर्सिजाले खेलेको खेलमा उनले १ गोल गर्दै अरिमा एफसीलाई २-०ले पराजित गरेको थियो।
१० खेलमा १५ अंक जोडेको पर्सिजा अंक तालिकाको १५औं स्थानमा छ। पर्सिजाले शुक्रबार लिग अन्तर्गत ११औं खेलमा श्रीविजयाको सामना गर्दैछ। रोहित उक्त खेलको लागि टोलीमा समावेश हुने बुझिएको छ। केहि वर्ष पहिला श्रीविजयामा नेपाली खेलाडी सन्तोष शाहुखल ट्रायलका लागि पुगेका थिए।