रसिया (एजेन्सी) – लेभ याशीनले खेल्न छाडेको झन्डै आधा शताव्दी पुगिसक्दा पनि फूटबलका जानकारहरु अझै उनलाई नै अहिलेसम्मकै सर्वोत्कृष्ट गोलकिपर मान्दछन्। याशीन आफ्नो खेल जीवनमा ‘ब्ल्याक स्पाईडर’को उपनामले चिनिन्थे। उनलाई उक्त उपनाम दिनुको पछाडी विभिन्न कारण रहेको छ, एक त उनि सधैं कालो जर्सीमा गोलपोष्ट सम्हाल्थे भने अर्को उनको गोलरक्षणमा अदभूत क्षमता थियो। उनलाई माकुराको नाम दिनुको कारण भने उनको बल रोक्ने शैली माकुराले आफ्नो आठ ओटा हात चलाएझैं लाग्दथ्यो र उनि निकै छरितो पनि थिए।
युरी गाग्रीनलाई आकाशमा उडेको देख्दा पाइने आनन्दलाई एक राम्रो पेनाल्टी बचाउले मात्र मात दिन सक्छ।
लेभले आफ्नो करियरको सुरुवात आइस हक्कीबाट गरेका थिए। उनि सन् १९४१मा १२ बर्षको उमेरमै आफुले काम गर्ने हतियार उत्पादन गर्ने कम्पनीको टोलीबाट हक्की खेल्ने गर्थे। त्यसबेला सोभिएत युनियनले दोस्रो विश्वयुद्द लड्दै थियो र बच्चा देखि वृद्दसम्म युद्धमा सघाउन होमिएका थिए। लेभले फुटबलमा प्रवेश गर्न धेरै कुर्न पर्यो। सन् १९५०मा रसियन क्लब डाईनामा मस्कोका प्रतिनिधिहरुले उनको क्षमता देखेर एक मैत्रीपूर्ण खेलमा मौका दिए तर उनले उक्त खेलमा फितलो प्रदर्शन गरेपछि १९५३सम्म उनले अर्को दुई खेलमा मात्र गोल पोष्ट सम्हाल्ने जिम्मेवारी पाए। डाईनामोमा आवद्ध भइसक्दा पनि उनले हक्की छाडेका थिएनन् र सन् १९५३मा उनले डाईनामोको हक्की टोलीलाई सोभिएत युनियन कप जिताउन सफल भए।
सन्१९५३ लेभका लागि निकै फलदायी रह्यो जुन उनको करियरकै परिवर्तन विन्दु बन्न पुग्यो। क्लबका नियमित गोलरक्षकले सन्यास लिएसँगै याशीनले क्लबको मुख्य गोलरक्षकको जिम्मेवारी पाए। याशीनले खेल्नुअघि फुटबलमा गोलरक्षकको भूमिका भनेको विपक्षीले हानेको बल रोक्नु मात्र हुन्थ्यो तर उनले गोलरक्षणको परिभाषा परिवर्तन गरिदिए। याशीन बक्सबाट बाहिर आएर ट्याकल हान्न निकै खप्पिस थिए। उनि पछाडी बसेर टोलीका खेलाडीहरुलाइ निर्देशन दिन्थे र खेल मिलाउथे।
याशीनले आफ्नो करियरमा गरेका केहि उत्कृष्ट बचाऊ
याशीन भन्दा अगाडी गोलरक्षकहरुको पुरा ध्यान बल समात्नमै केन्द्रित हुन्थ्यो। तर याशीनको पन्चिङ गर्ने शैली र बललाई छिटो चलाएर टोलीलाई काउन्टर अट्याकमा पठाउने रणनीतिले उनको चर्चा चुलिएको थियो। याशीनले खेल्न भन्दा अगाडि गोलरक्षकको बल समात्ने भन्दा अरु खेल कौशलता लगभग शुन्यप्राय हुन्थ्यो। सन् १९५८को स्वीडेन विश्वकपदेखि गोलरक्षकहरुले पन्जा लगाउन सुरु गरेका थिए। यसको सुरुवात पनि याशीनले नै गरेका थिए। उक्त विश्वकपमा सोभिएत युनियन क्वार्टरफाईनलबाट अघि बढ्न नसकेपनि याशीन प्रतियोगिताको उत्कृष्ट एघारमा पर्न सफल भएका थिए।
सन् १९६० र १९६१मा बालोन डी’आरमा मनोनित भएका याशीनले अन्तिम नतिजामा भने क्रमश: पाँचौ र चौथो स्थानमा चित्त बुझाएका थिए। सन् १९६३ याशीनको करियरकै सबै भन्दा खराब वर्ष हुन पुग्यो। उक्त विश्वकपमा निकै भरोसा गरिएको सोभिएत युनियनको टोलि सेमिफाइनल पनि पुग्न सकेन। उक्त विश्वकपमा याशीनले कोलम्बियाका मार्कस कोलले प्रहार गरेको कर्नर बचाउन नसक्दा उक्त कर्नर सिधै गोलमा परिणत भएको थियो। उक्त कर्नर गोल आज सम्म पनि विश्वकप इतिहासमा सिधै कर्नरबाट प्रहार गरिएको एकमात्र गोल हो।
सन् १९६२को विश्वकपको खराब प्रदर्शन पश्चात धेरैले याशीनको अन्त्य भएको अड्कल काटेपनि सन् १९६३मा याशीनले उत्कृष्ट पुनरागमन गर्दै बालोन डी’अरको उपाधि जित्न सफल भए। आजसम्म पनि विश्व फुटबल ईतिहासमा उक्त प्रतिष्ठित उपाधि जित्ने उनि एक्ला गोलरक्षक हुन। याशीनले सन् १९६६को विश्वकपमा सोभिएत युनियनलाई सेमिफाइनलसम्म डोर्याएका थिए। सन् १९७०को वर्ल्डकप याशीनको करियरकै अन्तिम विश्वकप हुन पुग्यो। उनि त्यसबेला टोलीको तेश्रो वरियताका गोलरक्षक एवं सहायक प्रशिक्षकको भूमिकामा सम्मिलित थिए।
याशीनको नाममा आजसम्म पनि सर्वाधिक पेनाल्टी बचाऊ गरेको रेकर्ड कायमै छ। उनले आफ्नो खेलजीवन भरी १ सय ५१ पेनाल्टी छेकेका थिए। सन् १९९०मा उनको मृत्यु पश्चात फिफाले उनको सम्मानमा सन् १९९४को विश्वकपदेखि फाईनलका उत्कृष्ट गोलरक्षकलाई लेभ याशिन अवार्ड दिने घोषणा गर्यो।
आफ्नो खेल जीवनभर डाईनामो मस्कोबाट व्यवसायिक खेल खेलेका याशीनले अन्तिम खेलपनि उक्त टोलिबाट खेलेका थिए। फिफाले उनको सम्मानमा सन् १९७१मा आयोजना गरेको खेलमा पेले, बेकनबाउर तथा यूजेबियो जस्ता महान् हस्तीहरुले सहभागिता जनाएका थिए। मस्कोको लेनिन स्टेडियममा आयोजना भएको उक्त खेल हेर्न एक लाख भन्दा बढी दर्शक उपस्थित थिए।
याशीनले आफ्नो करियरमा ८ सय १२ खेल खेल्दै २ सय ७० क्लिन सिट राखे। ५ पटक सोभिएत लिगको उपाधि जितेका याशीनले ३ पटक सोभिएत कपको उपाधि उठाए। उनले राष्ट्रिय टोलीबाट खेल्दै सन् १९६०को युरोपियन च्याम्पियनसिप जितेका थिए। सन् १९६४मा भने सोभिएत युनियन उपविजेता रहेको थियो। उनले सन् १९५६को ओलम्पिक स्वर्ण पदक पनि जितेका थिए।
याशीनको सम्मानमा डिनामो मस्कोले आफ्नो रंगशाला बाहिर उनको सालिक पनि स्थापना गरेको छ।
एजेन्सीको सहयोगमा दिपेश तिमल्सिनाद्वारा अनुवादित लेख